सयपत्री फूलको किलिप लगाएर
आँगन रमाइरहेको समय छ,
बर्खाले आँसु तुर्क्याउन छोड़ेर
घमाइलो ओंठले हाँस्न खोजिरहेको बेला छ।
बर्खे खोलाजस्तो उल्लास हावामा सरसराइरहेछ।
घरछेउको नेभाराले आँगनमा छाया पोखिएर
कुन्नि के खोजिरहेछ मन लगाएर।
खेतबारीहरूमा पसिनाले समृद्धि लिँदै गइरहेका छन्।
सुन्तलाको फेदमा बसेर पसिनाका जौहरीले
सुन्तलाका दाना-दानालाई सुनले मोहोर्न सोच्दैछन्।
दशैँ-तिहारमा संस्कृति नाच्दै-नाच्दै आउँछ।
दशैँ-तिहार घरको मानुमा भरिएर आउँछ,
दशैँ-तिहार शिरको टोपीमा सिउरिएर आउँछ,
दशैँ-तिहार बाहुला सुर्काएर आउँछ,
दशैँ-तिहार आफैंलाई चिनाएर आउँछ।
लिङ्गेपीङ र रोटेपीङहरूमा मच्चिएर दशैँ-तिहार रमाउँछ।
ठूला-बढ़ा र देउसे-भैलेको आशिष पाएका
यी दिनहरू सौभाग्यवान छन्।
शरदको सौन्दर्य
गदावरी र मखमलीका पखेटाहरूमा फटफटाएर आउँछ।
त्यो एक खोङ्गी ताराका चल्लाहरू लिएर जूनकी माऊपोथी
आकाशमा सौन्दर्य कोट्कोट्याउँछे।
खानेकुरा चल्लालाई खुवाउँदा
कहिले त्यो मुखबाट खस्छ,
त्यतिबेला कहीं एउटा तारा चुँड़िएर झर्छ।
मालश्रीका सुनिन्छन् सुमधुर रागहरू,
मादलले ठोक्छ समला, गर्रा, ठोकन र छोकड़ाहरू।
रमाइलोको सगरमाथामा
मारुनी नाचका तेन्जिङहरू झण्डा गाड़्छन्।
जताततै खुशीको लुगा लगाएर
प्रेम दगुरिहिँड़छ!
अहो! दशैँ-तिहार कति सुन्दर छ!
आडम्बरको सिंगार भर्न
अविवेकीपनको फाहा धसेर
स्थितिको अनुहार दागैदाग नपारिए त
दशैँ-तिहारजस्तो रमाइलो कोशेली बोकी ल्याउने
अरू को होला?
(कवि सुपरिचित युग्मकार अनि लघु कथाकार हुनुहुन्छ)