शहीद दिवस समारोह समिति खरसाङद्वारा सोनादा क्षेत्रका शहीद परिवारलाई सम्मान

fbc69fff-6c05-494a-b341-f6b7ec7d0703

सोनादा: गोर्खाल्याण्ड आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवनको आहुति दिने वीर शहीदहरूको योगदानलाई स्मरण गर्दै शहीद दिवस समारोह समिति खरसाङ र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) सोनादा पचेङ समष्टिको संयुक्त आयोजनामा सोनादा क्षेत्रका शहीद परिवारहरूलाई सम्मान गरिएको छ। १९८६ सालदेखि गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो प्राणको आहुति दिने वीर–वीराङ्गनाहरूको सम्मानमा शहीद दिवस समारोह समिति खरसाङद्वारा गत २७ जुलाई १०२६ का दिन खरसाङमा विशेष सम्मान समारोह आयोजना गरिएको थियो। उक्त समारोहमा सोनादा क्षेत्रका शहीद परिवारहरूलाई समेत निमन्त्रणा गरिएको भए पनि सोही दिन सोनादामा गोरामुमो सोनादा पचेङ समष्टिको आयोजनामा अर्को सम्मान कार्यक्रम निर्धारित भएकाले उनीहरू खरसाङको कार्यक्रममा उपस्थित हुन सकेका थिएनन्। यसैलाई मध्यनजर गर्दै आईतवार सोनादा न्यू लाइट क्लब भवनमा संयुक्त रूपमा विशेष सम्मान समारोह आयोजना गरिएको हो। कार्यक्रममा शहीद परिवारका सदस्यहरूलाई खदा ओढाएर सम्मान गर्दै सम्मान सामग्रीसमेत हस्तान्तरण गरिएको थियो। कार्यक्रममा शहीद दिवस समारोह समिति खरसाङका सचिव अञ्जय छेत्री, सदस्यहरू भूषण देवान, अजय गुरुङ तथा गोरामुमो सोनादा पचेङ समष्टिका अध्यक्ष भूपेन गुरुङ, प्रनित थापा, समष्टि प्रतिनिधिहरू, लोवर सोनादा ग्राम पञ्चायत सदस्य निमा तामाङ, गोरामुमो सोनादा टाउन कमिटीका प्रतिनिधिहरू तथा विभिन्न शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गोरामुमो सोनादा पचेङ समष्टिका अध्यक्ष भूपेन गुरुङले शहीदहरूप्रति साँचो श्रद्धाञ्जली उनीहरूले देखेको सपना साकार पार्नु नै हुने बताए। उनले भने, “शहीदहरूले जुन उद्देश्य र सपनाका लागि आफ्नो जीवन बलिदान दिनुभयो, त्यसलाई पूरा गर्न अब हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ।” त्यसैगरी, समितिका सदस्य भूषण देवानले शहीद दिवस समारोह समितिको उद्देश्य र औचित्यबारे प्रकाश पार्दै गोर्खाल्याण्ड आन्दोलनमा १९८६ सालदेखि २०१७ सम्म आफ्नो जीवन बलिदान गर्ने सम्पूर्ण वीर शहीदहरूको योगदानलाई सम्मान र स्मरण गर्न स्वतन्त्र रूपमा समिति गठन गरिएको बताए। उनले समितिको अध्यक्षका रूपमा खरसाङ विधानसभा क्षेत्रका विधायक सोनाम लामा रहेको जानकारी दिँदै भावी पुस्ताले समेत शहीदहरूको त्याग, बलिदान र योगदानलाई कहिल्यै नबिर्सियोस् भन्ने उद्देश्यले समिति अघि बढिरहेको बताए। कार्यक्रममा शहीद परिवारका सदस्यहरूले आफ्ना प्रियजनको बलिदानलाई स्मरण गर्दै सम्मान ग्रहण गरेका थिए। आयोजकहरूले शहीदहरूको त्यागलाई केवल स्मरणमा सीमित नराखी उनीहरूले देखाएको आदर्श, उद्देश्य र सपनालाई भावी पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिएका छन्। शहीदहरूको बलिदान र योगदानप्रति सम्मान व्यक्त गर्दै आयोजित यस कार्यक्रमले शहीद परिवारप्रतिको सामाजिक उत्तरदायित्व, ऐतिहासिक स्मरण र भावी पुस्तामा शहीदहरूको योगदान हस्तान्तरण गर्ने प्रतिबद्धतालाई थप बलियो बनाएको आयोजकहरूको भनाइ छ।

About Author

Advertisement