५-७ वर्षमा १,००० करोडको ब्रान्ड बनाउने लक्ष्य
काेलकाता: भारतको प्रतिष्ठित व्यावसायिक घराना इमामी ग्रुपको खाद्य तथा कृषि व्यवसाय एकाइ इमामी एग्रोटेकले नयाँ स्न्याकिङ ब्रान्ड ‘वीमी’ बजारमा ल्याएको छ। कम्पनीले आगामी ५ देखि ७ वर्षभित्र यस ब्रान्डलाई १,००० करोड भारतीय रुपैयाँ बराबरको बनाउने रणनीतिक लक्ष्य लिएको छ। यस नयाँ पहलबाट बिक्री तथा अन्य सहायता क्षेत्रमा १,००० भन्दा बढी प्रत्यक्ष र करिब ३,००० अप्रत्यक्ष रोजगारका अवसरहरू सिर्जना हुनेछन्। इमामी एग्रोटेकलाई एक पूर्ण खाद्य कम्पनीको रूपमा स्थापित गर्ने योजनामा यो कदमलाई महत्त्वपूर्ण कोसेढुङ्गा मानिएको छ।
इमामी ग्रुपका निर्देशक मनिष गोयन्काका अनुसार भारतीय उपभोक्ताहरूले स्वाद, सुविधा र नयाँपन खोजिरहेको सन्दर्भमा ‘वीमी’ ले भारतको स्न्याक्स बजारप्रतिको विश्वासलाई प्रतिनिधित्व गर्दछ। खाद्य क्षेत्रको अनुभव र भारतीय उपभोक्ताको चाहनाप्रतिको बुझाइका आधारमा कम्पनीले यसलाई दीर्घकालीन विकासको माध्यमका रूपमा लिएको छ, जहाँ भविष्यमा थप नयाँ उत्पादनहरू ल्याइनेछ।
’वीमी’ लाई डिजिटल-फर्स्ट ब्रान्डको रूपमा डिजाइन गरिएको छ। युवा उपभोक्ताहरूलाई आकर्षित गर्न क्रिएटर-लेड कन्टेन्ट, सामाजिक सञ्जाल र क्विक कमर्सको प्रयोग गरिनेछ। सुरुआतमा कोलकात्ता, दिल्ली एनसीआर, मुम्बई, बेङ्गलुरु र अहमदाबादजस्ता प्रमुख सहरहरूमा क्विक कमर्समार्फत यो ब्रान्ड उपलब्ध हुनेछ। यसका साथै कोलकात्ताबाट सामान्य व्यापारमा प्रवेश गरी बिस्तारै अन्य बजारहरूमा विस्तार गरिने योजना छ। इमामी ग्रुपकी निर्देशक विदुला अग्रवालका अनुसार नयाँ पुस्ताले संवाद र समुदायमार्फत उत्पादनको खोजी गर्ने भएकाले ‘वीमी’ लाई कन्टेन्ट, कमर्स र उपभोक्ता संलग्नतालाई एकै ठाउँमा ल्याउने गरी तयार पारिएको हो।
वार्षिक करिब ३०,००० करोड भारतीय रुपैयाँको कारोबार रहेको इमामी ग्रुप एफएमसीजी, खानेतेल, कागज, घरजग्गा र खुद्रा व्यापारमा अग्रणी मानिन्छ। यसको खाद्य एकाइ इमामी एग्रोटेक भारतको तेस्रो ठुलो खानेतेल रिफाइनरी हो, जसको दैनिक उत्पादन क्षमता १२,००० टन रहेको छ।










