ईटानगर: भारतको अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डूले स्थानीय बुनकर र शिल्पकारहरूले परम्परागत संस्कृति जोगाउनका साथै राष्ट्रिय विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गरेका छन्।
’राष्ट्रिय हथकरघा दिवस’ (नेशनल हैंडलूम डे) को अवसरमा आयोजित प्रदर्शनीको अवलोकन गर्दै मुख्यमन्त्री खाण्डूले स्थानीय जनजातिहरूका विविध परम्परा तथा कलाकृतिहरूको प्रशंसा गरेका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सेयर गर्दै उनले लेखेका छन्, “हाम्रा बुनकर र कारीगरहरूले साँच्चै नै उत्कृष्ट काम गरिरहेका छन्। राष्ट्रिय हथकरघा दिवसको अवसरमा आयोजना गरिएको प्रदर्शनीमा विभिन्न जनजातिका सुन्दर परम्पराहरू झल्किने जीवन्त स्टलहरू देखेर म निकै प्रभावित भएँ।”
उद्यमीहरूले देखाएको नवीनता र सिर्जनशीलताको प्रशंसा गर्दै उनले परम्परागत हस्तकलामा नयाँ विचार र प्रविधिको समायोजनले स्थानीय उत्पादनलाई थप गतिशील बनाएको बताएका छन्। हस्तकला र हथकरघा क्षेत्रले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै अर्थतन्त्रलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे।











