नेपालको तारा एयर दुर्घटना: १६ जनाको शव भेटियो

फाइल फोटो

काठमाडौं: आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरमा सवार रहेका १६ जनाको शव भेटिएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार ती शवहरुको पहिचान हुनसकेको छैन। अन्य ६ जनाको खोजी अभियान जारी रहेको प्राधिकरणअन्तर्गत खोज तथा उद्धार समन्वय केन्द्रले बताएको छ। आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ। चालक दलका तीन सदस्यसहित २२ जना सवार रहेका तारा एयरको जहाज आइतबार बिहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको थियो। भेटिएका शवहरु पहिचान गर्न नसकिने अवस्थामा छन्। संकलन गरिएका शवलाई काठमाडौं ल्याइनेछ। पोस्टमार्टमपश्चात शव परिवारलाई सुम्पिने छ। मौसम बिग्रिएका कारण उद्धार गर्ने कार्यमा ढिलाइ भइरहेको खोज तथा उद्धार समन्वय केन्द्रका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिएका छन्। आइतबार दिनभर खोजतलास गर्दा पनि दुर्घटनास्थल पत्ता लगाउन सकिएको थिएन। सोमबार बिहानैदेखि नेपाली सेना, एयर डाइनेष्टी, कैशाल हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर तथा उद्धारकर्मीहरूबाट खोजतलास गरिएको थियो। सोही क्रममा फिस्टेल एयरको हेलिकप्टरले सानुसरे भन्ने ठाउँमा १४ हजार ५०० फिटको उचाइमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement