वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतार, साउदी अरब र संयुक्त अरब इमारात (यूएई) जस्ता खाडी मुलुकहरूको आग्रहमा इरानविरुद्ध गर्ने भनिएको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको बताउनुभएको छ। ट्रम्पका अनुसार अमेरिकी सेनाले दोस्रो विश्वयुद्धपछिकै ठूलो आक्रमणको तयारी पुरा गरिसकेको थियो, तर साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानसहित प्रमुख खाडी नेताहरूसँगको संवादपछि कुटनीतिक प्रयासलाई मौका दिन यो निर्णय रोकिएको हो।
ट्रम्पले एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै क्षेत्रीय सहयोगी राष्ट्रहरू पाँच महिना लामो युद्ध अन्त्य गर्न एउटा सहमतिको रूपरेखामा पुगेको दाबी गर्नुभयो। प्रस्तावमा होर्मुज जलडमरूमध्यलाई पुनः खोल्ने विषय समावेश छ। तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले होर्मुज जलडमरूमध्य खोल्ने विषयमा अहिल्यै कुनै सहमति नभएको र स्थिति युद्ध सुरु हुनुअघिको जस्तो नरहने स्पष्ट पार्नुभएको छ।









