गान्तोक: तीनदिने आजादीको अमृत महोत्सव कार्यक्रम शुक्रबार नेताजी सुभाषचन्द्र बोसद्वारा स्थापित भारतीय राष्ट्रिय सेना दिवसको अवसरमा समापन भयो। यस तीनदिने कार्यक्रममा भारतका स्वतन्त्रता आन्दोलन तथा विशेष रूपमा पूर्वोत्तर भारतका स्वतन्त्रता सेनानीहरूका योगदानको प्रदर्शनी गरिएको थियो। सूचना एवं प्रसारण मन्त्रालयअन्तर्गत केन्द्रीय सञ्चार कार्यालय गुवाहाटीद्वारा सशस्त्र सीमा बल (एसएसबी), गेजिङको संयुक्त तत्वावधानमा पश्चिम सिक्किमको गेजिङअन्तर्गत क्योङसा खेल मैदानमा आयोजित कार्यक्रमा अन्यका साथसाथै एसएसबीको विविध गतिविधि सम्बन्धी विशेष तस्वीर प्रदर्शनी पनि राखिएको थियो।
तीनदिने कार्यक्रममा अर्ध सामरिक बलको आयुध प्रदर्शनी विद्यार्थी अनि आम जनमानसका लागि विशेष आकर्षण रहेको थियो। यस अवसरमा चिकित्सा शिविर पनि राखिएको थियो, जहाँ धेरै सङ्ख्यामा स्थानीयहरूलाई निःशुल्क उपचारका साथमा औषधि पनि प्रदान गरियो। यसका अतिरिक्त एसएसबीद्वारा पशु चिकित्सा शिविर पनि राखिएको थियो भने चित्रकला प्रतियोगिता अनि मैत्री फूटबल खेलसहित सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरियो। फूटबल खेल अनि चित्रकला प्रतियोगिताका विजेताहरूलाई यस अवसरमा पुरस्कार पनि प्रदान गरियो।
यस अवसरमा बोल्दै केन्द्रिय सञ्चार कार्यालयका उपनिर्देशक अरिजीत चक्रवर्तीले कार्यक्रमलाई सफल बनाउन धेरै सङ्ख्यामा आम जनमानस अनि विद्यार्थीहरूले भाग लिएकोमा आभार प्रकट गरे। प्रदर्शनी आयोजन गर्नुको मुख्य उद्देश्य स्वतन्त्रता सङ्ग्रामबारे आम जनमानस अनि विद्यार्थीहरूलाई यस विषयमा जागरूक गराउनु रहेको उनले बताए।
यसै गरी कार्यक्रमलाई सम्बोधित गर्दै एसएसबीका दोस्रो कमाण्डिङ अधिकारी दिलीपकुमार झाले सीमावर्ती इलाकाहरूमा एसएसबीको गतिविधिबारे प्रकाश पारे। आफ्नो नित्य कर्तव्यका अतिरिक्त यो बल आम नागरिकलाई सहयोग गर्न सधैं तयार रहेको पनि उनले बताए। -पीआईबी