सिन्कोना बगानको श्रमिकहरुको समस्याहरु हेर्न र बुझ्न मात्र होइन तर समाधान पनि गर्न आएका हौँ: श्रम मन्त्री अर्जुन सिंह
मङ्पु: पश्चिम बंगाल सरकारका श्रम तथा यातायात मन्त्री अर्जुन सिंह आज आधिकारिक भ्रमणका क्रममा मङ्पु आइपुगेका छन्। उनीसितै राज्यको पार्वत्य मामिला मन्त्री विशाल लामा र सांसद राजु विष्ट पनि उपस्थित रहेका थिए। उनलाई दार्जीलिङ जिल्ला भाजपा अध्यक्ष सञ्जीव लामा, खरसाङका भाजपा विधायक सोनाम लामा, तथा गोजमुमो अध्यक्ष बिमल गुरूङले हार्दिक स्वागत जनाएका छन्। मन्त्रीको भ्रमणको मुख्य उद्देश्य ऐतिहासिक मङ्पु सिन्कोना बगानको निरीक्षण गर्नका साथै त्यहाँ कार्यरत श्रमिकहरूको अवस्था, रोजगारी, श्रमिक कल्याण तथा बगानको समग्र विकाससम्बन्धी विषयमा स्थलगत जानकारी लिनु रहेको बताइएको छ। यस क्रममा सम्बन्धित अधिकारीहरू, श्रमिक प्रतिनिधिहरू तथा स्थानीय सरोकारवालाहरूसँग पनि छलफल हुने अपेक्षा गरिएको छ। भाजपा नेतृत्वका अनुसार यस भ्रमणले सिन्कोना बगानका श्रमिकहरूले भोगिरहेका समस्या, उनीहरूको जीवनस्तर सुधार तथा बगानको दीर्घकालीन विकासका लागि आवश्यक पहलहरूबारे सरकारलाई प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाहरूले मन्त्रीको यस भ्रमणबाट सिन्कोना बगानको पुनरुत्थान, श्रमिकहरूको हित संरक्षण तथा मङ्पु क्षेत्रको समग्र विकासका लागि ठोस र सकारात्मक निर्णयहरू हुने विश्वास व्यक्त गरेका छन्। यसावधि मन्त्री र अन्यले मङ्पुको विभिन्न स्थानहरुको भ्रमण गरेका थिए। यस अवसरमा पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिन्दै श्रम मन्त्री अर्जुन सिंहले राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीको निर्देशनमा मङ्पु भ्रमणमा आएको बताउँदै यस भ्रमणमा सिन्कोना बगानको श्रमिकहरुको समस्याहरु हेर्न र बुझ्न मात्र होइन तर समाधान पनि गर्न आएको बताए। उनले यस अवसरमा निम्नत्तम रोजगार अधिनियम विषयमा पनि चर्चा परिचर्चा गरिने जानकारी गराएका छन्। उनले सिन्कोना देशमा मात्र होइन तर विश्व प्रसिद्ध रहेको बताएका छन्। यस अवसरमा दार्जिलिङका सांसद राजु विष्टले पनि पत्रकारहरुलाई सम्बोधन गर्दै राज्यको श्रम मन्त्रीको यो भ्रमण सिन्कोनावासी र श्रमिकहरुका लागि ऐतिहासिक रहेको र यस भ्रमणले सिन्कोनाको भविष्य निर्धारण हुने बताएका छन्। उनले आरोप लगाउँदै भने, ‘२००८ देखि सिन्कोना बगानका श्रमिकहरुले डीए लगायत अन्य सहुलियतहरु पाएका छैनन्। अस्पताल छ तर व्यवस्था सठीक छैन। सिन्कोनाको अपार क्षमता भएर पनि विगतको सीपीएम र तृणमूल कांग्रेसको सरकारले सिन्कोनाको लागि केही काम गरेन। तर भाजपाको डबल इञ्जिनको सरकारले अब काम गरेर सबै समस्याको समाधान गर्नेछन्।’










