गोरामुमो शहीद टाशी भुटिया वेदीको सरसफाइ, पुलिसमा उजुरी दर्ता, सीसीटीभी जडान गरिने
सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सोनादा पचेङ समष्टिले शहीद टाशी भोटियाको शहीद वेदी परिसरमा पटक पटक फोहोर फालेर अपमान गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै शहीदहरूको सम्मान गर्न सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ। समष्टि अध्यक्ष भुपेन्द्र गुरुङको नेतृत्वमा गोरामुमो सोनादा पचेङ समष्टिका पदाधिकारी तथा कार्यकर्ताहरूले सोनादा बजारस्थित शहीद टाशी भोटियाको शहीद वेदीको निरीक्षण गर्दै व्यापक सरसफाइ अभियान सञ्चालन गरेका हुन्। स्मरणीय छ कि गत २७ जुलाई शहीद दिवसको अवसरमा गोरामुमोले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेपछि शहीद वेदी वरिपरि फोहोर नगर्न स्थानीयवासीसँग सार्वजनिक अपिल गरेको थियो। तर त्यसको भोलिपल्ट नै वेदी परिसरमा फोहोर थुपारिएको भेटिएपछि पार्टीले यस घटनालाई शहीदप्रतिको असम्मानका रूपमा लिएको जनाएको छ। सरसफाइ अभियानपछि गोरामुमो सोनादा टाउन कमिटीका नेता रुस्तम छेत्रीले भिडियो सन्देशमार्फत भने, “यदि शहीदलाई सम्मान गर्न सकिँदैन भने कम्तीमा अपमान पनि नगरौँ। शहीदहरूको बलिदान र योगदानप्रति सम्मान प्रकट गर्नु प्रत्येक सचेत नागरिकको दायित्व हो।”उनले यस घटनाका सम्बन्धमा सोनादा प्रहरी चौकीमा प्राथमिकी दर्ता गरिसकिएको जानकारी दिँदै शहीद वेदीको सुरक्षा तथा संरक्षणका लागि आगामी केही दिनभित्र सीसीटीभी क्यामेरा जडान गरिने बताए। साथै भविष्यमा कसैले यस्ता गैरजिम्मेवार गतिविधि दोहोर्याएको पाइए कानुन अनुसार कडा कारबाही गरिने चेतावनी पनि दिए। रुस्तम छेत्रीले शहीदहरूको बलिदानले नै गोर्खा समाजको इतिहास र पहिचान निर्माण गरेको उल्लेख गर्दै शहीद वेदीजस्तो पवित्र स्थलको सम्मान र संरक्षण गर्नु सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको बताए। उनले विशेष गरी सोनादावासीलाई शहीदहरूको सम्मान कायम राख्न र सार्वजनिक सम्पदाको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न हार्दिक अपिल गरेका छन्।गोरामुमोले शहीदहरूको सम्मान, स्मृति र बलिदानको संरक्षण कुनै एक राजनीतिक दलको मात्र नभई सम्पूर्ण गोर्खा समाजको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता संवेदनशील विषयमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याएको छ।
,










