मिरिक: मिरिक उच्च माध्यमिक विद्यालयले १२५ वर्ष पुगेको समारोहमा मुख्य अतिथिको रूपमा जीटीए प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। उनले आफ्नो सम्भाषणमा भने , “नेताले नौकरी दिनु सक्दैन, सिस्टमले नै दिनेछ।”
आफ्नो प्राथमिकता प्राथमिक शिक्षालाई डायनासोरको कथा बनाउनुदेखि बचाउनु हो भन्दै उनले भने, “शिक्षामाथि नै काम गर्छु भनेर म अघि बढेको छु। हाम्रो पहिचानको लडाइँमा हामीले धेरै विनाश पनि गर्यौ। प्राथमिक शिक्षा मेरो प्राथमिकता हो भनेर मैले धेरै मञ्चबाट भनेको छु। मेरो पाठशाला भ्रमणमा मैले स्कूलको पूर्वाधारहरु नै ठीक नभएको पाए। त्यही ठीक गर्न हामी यो शीतकालीन समयमा प्राथमिक विद्यालयको पूर्वाधारमा परिवर्तन ल्याउन काम सुरु गर्दैछौ।”
सरकारी पाठशाला अनि निजी पाठशाला माथि मानिसको मानसिकता परिवर्तन गर्नुपर्छ भन्दै उनले भने, “२०१७ मा अनित थापाले गोर्खाल्याण्ड बेच्यो भन्ने मानसिकता थियो। तर २०२२ मा हामीलाई तपाईहरुले नै भोट दिएर जिताउनु भयो। मानसिकता परिवर्तन भएर नै हो। त्यसरी नै शिक्षा क्षेत्रलाई पनि गलत मानसिकताले ग्रसित भएको छ। त्यो मानसिकता परिवर्तन गर्नु मेरो निम्ति ठूलो चुनौती हो।”
उनले अझ भने, “स्थानीय शैक्षिक संस्थाहरू माथि निवेश गर्नु सक्यौं भने यसले परिवारको आर्थिक स्थितिमा पनि परिवर्तन ल्याउनेछ। हाम्रो नानीहरूले पढ्नु नै पर्छ, अर्को विकल्प छैन। पढेर नेताको पछि होइन, सिस्टमको अनुसरण गर्नुपर्छ। पहाडमा एउटा नराम्रो मानसिकता छ कि नौकरी पाउनुको निम्ति पार्टीको झण्डा समात्नु पर्छ, नेताको पछि हिड्नु पर्छ। तर नेताले नौकरी दिनु सक्दैन, सिस्टमले नै दिनेछ।”