खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले आज खरसाङको अम्बटे चिया कमानका ट्रेड युनियनका नेताहरु अनि श्रमिकहरूसँग बैठक गरेका छन्। दशवटा चिया बगानको (दार्जीलिङ्ग अर्ग्यानिक टी) श्रमिकहरुले यसपालीको दसैँमा धेरै दुःख पायो। बोनस वितरण हुनु अघि नै म्यानेजर भागे। श्रमिकहरूको विचल्नी भयो। यही समस्या सुल्झाउन जीटीए प्रमुख कार्यपाल अनित थापा आफू लागि परेको भन्दै उनले आज श्रमिकहरुलाई भने, “म यही समस्या सुल्झाउन दिन रात लागेको थिए। म कमानको मालिकसंग डायलगमा बसे। बोनसको समयमा म श्रमिकहरूको हितको निम्ति कमानको मालिकको घरसम्म पुगे। अर्ग्यानिक कम्पनीसंग म डायलगमा बसेको नै थिए। दसैं अघि दश प्रतिशत भएपनि बोनस पाउनु भयो। मैले डायलग बन्द गरिन्, त्यही डायलगको कारण हिजो हामी निष्कर्षमा पुग्यौं।”
उनले भने, ” तपाईहरुलाई शुभ खबर दिनु म यहाँ आएको हुँ। जुन कम्पनीले तपाईहरुलाई दुःख दियो त्यो कम्पनीको मालिक परिवर्तन भएको छ। नरबुङ सिविटार चिया बगान किन्ने मालिकले नै अम्बोटिया चिया कमान पनि किनेको छ। आज कमानको जेनेरल म्यानेजर कमानमा आउनेछन्।”
थापाले शुभ खबर दिँदै भने, “कमानको श्रमिकले पाउनु पर्ने रहल 10% वोनस अनि दैनिक रोज यो तिहार अघि पाउनेछन्।”
उनले पहाडको सबै कमानवासीलाई धन्यवाद दिँदै भने, “कमानवासीले मलाई भोट दिएर यो स्थानमा पुर्याएको हो। कमान वासीको समस्याको निधान खोज्ने मेरो उत्तरदायित्व हो। समस्याको समाधान गर्नु नेतृत्वको काम हो।”
दस वटा चिया बगानको समस्यालाई लिएर राजनीति भएकोमा दुःख व्यक्त गर्दै उनले भने, “म जति पनि नेताहरु हेर्छु सबै आएर भन्छन कमानवासिलाई दुःख छ। दुःखलाई ठूलो दुःख बनाउँछन् अनि कमानको मालिक, व्यवस्थापन अनि नेतालाई गाली गर्छन। यति गरेर के दुःख हट्छ र? दुःख त सबैलाई छ। दुःख हटाउने काम गर्नु नै नेतृत्वको कर्तव्य बन्छ। दुःखबाट कसरी मुक्त हुने कुनै उपाय नै बताउँदैनन् नेताहरु। बरु यहाँ आएर कमानको दिदी बहिनी, दाज्यु भाईलाई चम्काएर जान्छन्। कमानवासीलाई उक्साउन मात्र आउँछन् नेताहरु कमानमा। समस्याको समाधान नै नगर्ने कस्तो नेता हो? दुःख त छ तर दुःख देखि कसरी उन्मुक्ति हुने त्यो बाटो देखाउनु नेतृत्वको काम हो।”
उनले नेताको नाम नलिई कटाक्ष गर्दै भने, ” चिया कमान हाम्रो मानिसको निम्ति दैनिक रोजी रोटी हो। यही चियापत्ती टिपेर हाम्रो नानीहरूको पेट भरिन्छ, नानीहरुलाई स्कुल पठाइन्छ। तर यही रोजी रोटी दिने चिया माथि एउटा नेताले खुन छर्किन्दै गरेको पनि देख्नु भयो। खुन छर्किनु भनेको हाम्रो संस्कारमा भोग दिनु हो। अनिकाल लाग्छ। मलाई दुःख लाग्यो। त्यो भन्दा असल त मालिक संग बसेर श्रमिकको हक माग्नु पर्नेथ्यो। तर सबै जना चुप नै बसे।”
थापाले कोविड राहत कोष माथि पनि बोल्दै भने, “कोविड राहत कोषको पैसा अझ सम्म सुरक्षित छ। तिहार पछि म सबै ट्रेड युनियनका प्रतिनिधिहरु संग बैठक बसेर एउटा टोली तयार गर्नेछु। त्यो टोलीले प्रत्येक कमान मा गएर श्रमिकहरुलाई सोध्नेछन, ‘ रिलिफ फण्ड को पैसा बाड्नु कि श्रमिक भवन बनाउनु?’ अधिकांश श्रमिकहरुले जे भन्नेछन् म त्यही गर्नेछु। कारण पैसा श्रमिकको हो कुनै राजनैतिक नेताहरुको पैसा होइन।”










