खरसाङ : आगामी जीटीए चुनावको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा अन्तर्गत पर्ने तीनवटा समष्टिहरूका प्रार्थीहरूले आज नामाङ्कन पत्र बुझाएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पक्षमा खरसाङ देवराली समष्टिबाट श्याम शेर्पा, टुंग सन्त मेरिज समष्टिबाट नुरी शेर्पा र अम्बटे पंखाबारी लङ्भ्यु समष्टिबाट कल्पना प्रधानले जीटीए चुनावको लागि प्रार्थीको रुपमा नामाङ्कन पत्र बुझाएका छन्।

तीनैजनाले नामाङ्कन पत्र बुझाउन अघि आफ्ना समर्थकहरूसित खरसाङको मोटर स्ट्याण्डबाट एउटा ऱ्याली निकालेर खरसाङ बजार परिक्रमा गरेर खरसाङ महकुमा शासक कार्यालयमा पुगेर महकुमा शासकलाई नामाङ्कन पत्र बुझाएका छन्। उक्त तीनजनाको नामाङ्कन पत्र बुझाउन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा पनि उपस्थित रहेका थिए। उनी मोटर स्ट्याण्डबाट पैदल नै पङ्खाबारी रोड हुँदै महकुमा शासक कार्यालयसम्म पुगेका थिए।