राजगञ्ज: लाखौँ रुपियाँको बर्मा टीक काठ तस्करी गर्न अगावै उद्धार गरिएको छ।यसका साथै २ जना तस्करलाई पनि पक्राउ गरेको छ। यसरी पक्राउ परेकाहरूमा उत्तरप्रदेश र कोलकाता निवासी उपेन्द्र कुमार जयसवाल र सन्तोष सिंह रहेका छन्। पाइएको जानकारी अनुसार बेलाकोवा रेञ्जर सञ्जय दत्तको नेतृत्वमा वन कर्मीहरूले आज बिहान सिलगढी- जलपाईगढी राष्ट्रिय राजमार्ग अन्तर्गत राजगञ्जको पानीकौरी इलाकामा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा सिसाको बोतलको बोरामुनि लुकाएर राखेको ३० लाख रुपियाँ मूल्यको बर्मा टीक काठ उद्धार गरेको बताइएको छ। घटनामा ट्रक चालक सहित खलासीलाई पक्राउ गरेको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार जफत गरेको काठ गुवाहाटीबाट कोलकाता तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। पक्रा परेका २ जना तस्करलाई भोलि जलपाईगढी अदालतमा पेश गरिनेछ।