गोरामुमो अध्यक्ष मन घिसिङद्वारा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण

7c43a787-9a90-4035-8059-6a66f8cae01b

शहीदहरूप्रति साँचो श्रद्धाञ्जली भनेको उनीहरूले देखेको सपना साकार पार्नु हो: मन घिसिङ

सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का अध्यक्ष मन घिसिङले ४०औँ शहीद दिवसको अवसरमा सोनादा बजारस्थित अमर शहीद टाँशी भुटियाको शहीद वेदीमा पुगेर पुष्प गुच्छ अर्पण गर्दै सम्पूर्ण वीर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। श्रद्धाञ्जली अर्पणपछि आफ्नो संक्षिप्त तर गहन मन्तव्य कवितामार्फत व्यक्त गर्दै अध्यक्ष घिसिङले भने, “फूल आफ्नो निम्ति फुल्दैन, फूल अरूको निम्ति फुलिदिन्छ।” उनले यही भावलाई शहीदहरूको जीवनसँग तुलना गर्दै भने, शहीदहरूले आफ्ना व्यक्तिगत स्वार्थका लागि होइन, सम्पूर्ण गोर्खा जातिको अस्तित्व, माटो र पहिचानको मुक्तिका निम्ति आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएको हो।
उनले शहीदहरूको त्याग, बलिदान र योगदानलाई अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै त्यसको सम्मान केवल शब्दले होइन, कर्मले गर्नुपर्ने धारणा व्यक्त गरे। उनी अनुसार “शहीद” शब्द आफैंमा पवित्र छ, जसलाई कुनै राजनीतिक दलको सीमाभित्र बाँध्न मिल्दैन। शहीदहरू सम्पूर्ण गोर्खा जातिका साझा गौरव भएकाले उनीहरूको सम्मान दलगत स्वार्थभन्दा माथि उठेर गर्नुपर्नेमा उमले जोड दिए।
अध्यक्ष घिसिङले गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङको विचार स्मरण गर्दै भने, “शहीद मुख्य अतिथिभन्दा ठूलो हुन्छ।” यही आदर्श र मार्गदर्शनले आज पनि गोरामुमोलाई प्रेरित गरिरहेको उल्लेख गर्दै उनले शहीद दिवसमा कुनै व्यक्तिलाई होइन, शहीदहरूलाई नै सर्वोच्च सम्मान दिनुपर्ने विचार व्यक्त गरे। उनले शहीदलाई वर्षमा एक दिन सम्झेर मात्र दायित्व पूरा नहुने स्पष्ट पार्दै शहीदहरूप्रति साँचो श्रद्धाञ्जली भनेको उनीहरूले देखेको सपना साकार पार्नु नै भएको बताए। उनी अनुसार त्यो सपना गोर्खाल्याण्ड, गोर्खा जातिको पहिचान र न्यायको सुनिश्चितता हो, जसका लागि गोरामुमो निरन्तर संघर्षरत रहेको छ।
अध्यक्ष घिसिङले जबसम्म गोर्खा जातिले न्याय प्राप्त गर्दैन, तबसम्म शहीदहरूले पनि न्याय नपाउने उल्लेख गर्दै शहीदहरूको बलिदानको सम्मान र न्यायका निम्ति गोरामुमो सधैं प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले यो कुनै एक राजनीतिक दलको मात्र मुद्दा नभई सम्पूर्ण गोर्खा समुदायको साझा सपना भएको स्पष्ट पारे। यसको साथै उनले सबै राजनीतिक दलहरूलाई सिद्धान्तगत भिन्नता भए पनि जाति, माटो र पहिचानको मुक्तिको साझा उद्देश्यमा एकजुट भएर अघि बढ्न आह्वान गरे। “म” भन्दा “हामी” भन्ने सामूहिक भावनाका साथ अघि बढे मात्र शहीदहरूको सपना साकार पार्न सकिने उनको भनाइ थियो। अन्त्यमा अध्यक्ष मन घिसिङले गोरामुमोको तर्फबाट सन् १९८६ देखि २०१७ सम्म जाति, माटो र पहिचानको मुक्तिका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गरी अमर बन्नुभएका सम्पूर्ण वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शहीद परिवारहरूप्रति पार्टी सधैं कृतज्ञ, सम्मानित र साथमा रहने दृढ प्रतिबद्धता व्यक्त गरे।

About Author

Advertisement