गान्ताेक: कारगिल विजय दिवसको अवसरमा सिकिमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्ताेकस्थित राज्य सैनिक बोर्ड परिसरमा नवनिर्मित ‘राज्य सैनिक बोर्ड कार्यालय तथा सैनिक विश्राम गृह’ को औपचारिक उद्घाटन गरेका छन्। सिकिम सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यो संरचना पूर्वसैनिक तथा उनीहरूका परिवारको कल्याणका लागि समर्पित रहनेछ।
उद्घाटनपछि मुख्यमन्त्रीले नवनिर्मित भवन, सैनिक विश्राम गृह र व्यापारिक कवलहरूको निरीक्षण गर्दै भवन तथा आवास विभागका अधिकारीहरूबाट आयोजनाको विस्तृत जानकारी लिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले कारगिल युद्धका अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। उनले भारतीय सेनाले सीमा सुरक्षाका साथै प्राकृतिक विपत्तिको समयमा पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै सेवा निवृत्त भएपछि पनि पूर्वसैनिकहरूले समाजसेवामा देखाएको समर्पण अनुकरणीय रहेको बताए। यो नयाँ सुविधाले पूर्वसैनिक, सेवारत जवान, वीर नारी र सहिद परिवारहरूलाई पेन्सन, स्वास्थ्य, शिक्षा तथा रोजगारसम्बन्धी सेवाहरू एकै ठाउँबाट उपलब्ध गराउनेछ।
समारोहका क्रममा मुख्यमन्त्रीले अग्निवीरहरूका लागि विशेष घोषणा गर्दै चार वर्षको सेवा पूरा गरी फर्किएका अग्निवीरहरूलाई सिकिम प्रहरी जवान र वन रक्षकको भर्ंगामा २० प्रतिशत आरक्षण दिइने जानकारी गराए। यसका साथै पूर्वसैनिक समुदायका ११ जना लाभार्थीहरूलाई व्यापारिक कवल हस्तान्तरण गरिएको थियो भने पूर्वसैनिक सेवालाई थप सहज र पारदर्शी बनाउन ‘राज्य सैनिक बोर्ड डिजिटलाइजेसन प्रोजेक्ट’ को पनि औपचारिक शुभारम्भ गरियो।

कार्यक्रममा राज्य सैनिक बोर्डका पूर्वसचिवहरू मेजर पी.एस. राई, लेफ्टिनेन्ट कर्नेल पदमबहादुर गुरुङ र कर्नेल डी.एन. भुटियासहित पाँच जना पूर्व कल्याण संयोजकहरूलाई उनीहरूको उत्कृष्ट सेवाको कदर गर्दै सम्मान गरिएको थियो। भवन तथा आवास मन्त्री भिमहाङ लिम्बू, उच्च सरकारी अधिकारी, सेनाका वरिष्ठ अधिकारीहरू र ठूलो सङ्ख्यामा पूर्वसैनिक तथा तिनका परिवारहरूको उपस्थिति रहेको यो कार्यक्रम जोनल कल्याण अधिकारी सुबेदार जी.एस. पाण्डेको धन्यवाद ज्ञापन र राष्ट्रिय गानसँगै समापन भएको थियो।








