नीट पेपर लीकविरुद्ध अनशनमा छन् वाङचुक
नयाँ दिल्ली: नीट पेपर लीक प्रकरणलाई लिएर विगत २८ जुनदेखि अनिश्चितकालीन भोक हडतालमा बसेका सामाजिक अभियन्ता सोनम वाङचुकसँग भेट्न सरकारले वार्ताको पहल गरेको छ। मङ्गलबार राति केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले गुरुग्रामस्थित मेदान्ता अस्पताल पुगेर वाङचुकसँग भेटघाट गरेका छन्।
दिल्ली उच्च अदालतको आदेशपछि वाङचुकलाई सफदरजङ अस्पतालबाट मेदान्ता अस्पतालमा सारेलगत्तै दुवै मन्त्री उहाँको स्वास्थ्य स्थिति बुझ्न र कुराकानी गर्न पुगेका हुन्। वाङचुककी पत्नी गीताञ्जली अङ्गमोलले आफ्नो रोजाइको अस्पतालमा उपचार पाउनुपर्ने माग गर्दै दायर गरेको निवेदनमा सुनुवाइ गर्दै अदालतले उहाँलाई मेदान्ता सार्न आदेश दिएको थियो।
सफदरजङ अस्पतालका अनुसार डिस्चार्ज गर्दा वाङचुकको स्वास्थ्य स्थिति स्थिर रहे पनि प्यानसाईटोपेनियाको समस्या यथावत् रहेको छ। हाल मेदान्ता अस्पतालमा डा. सुशीला कटारियाको टोलीले उहाँको उपचार गरिरहेको छ भने अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।









