उत्तरकन्यामा उच्चस्तरीय बैठकमा सहभागी
फुलबारी: उत्तर बङ्गालको भ्रमणमा रहेका केन्द्रीय गृहमन्त्री अमित शाहले शनिबार भारत-बंगलादेश सीमा क्षेत्रअन्तर्गत फुलबारीस्थित सीमा सुरक्षा बल (बीएसएफ) को जुम्मागाछ बीओपी (बोर्डर आउट पोस्ट) को निरीक्षण गरेका छन्। उनको भ्रमणलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।
गृहमन्त्री शाहको आगमनलाई लिएर फुलबारी क्षेत्रमा निकै उत्साह देखिएको थियो। भाजपाका कार्यकर्ता र समर्थकहरूले फूलको वर्षा गर्दै परम्परागत बाजा ‘कन्सार’ बजाएर उनको भव्य स्वागत गरेका थिए। निरीक्षणका क्रममा गृहमन्त्रीले सीमा सुरक्षा र राष्ट्रिय सुरक्षाका विषयमा जानकारी लिएका छन्।

जुम्मागाछ नम्बर १८ बीओपीमा आयोजित कार्यक्रममा गृहमन्त्री शाहले वृक्षारोपण गर्नुका साथै विभिन्न विकास परियोजनाहरूको उद्घाटन र नयाँ योजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। सीमा क्षेत्रको निरीक्षण र कार्यक्रमपश्चात् गृहमन्त्री शाह उत्तरकन्यातर्फ प्रस्थान गरेका छन्, जहाँ उनले प्रशासनिक र सुरक्षासम्बन्धी विषयमा उच्चस्तरीय बैठकमा सहभागिता जनाउने कार्यक्रम छ।










