फिफा विश्वकप: इतिहासमै पहिलो पटक विजेता टोलीले ‘च्याम्पियनसिप रिङ’ पाउने​

a410aa89-cf7d-41ee-9fdf-b012802929c9

नयाँ दिल्ली: ​फिफा विश्वकप २०२६ को विजेता टोलीले प्रतिष्ठित सुनको ट्रफी र मेडलका साथै इतिहासमै पहिलो पटक एउटा विशेष उपहार पाउने भएको छ। फिफाले यस पटकको विश्वकप विजेताका लागि विशेष रूपमा तयार पारिएको च्याम्पियनसिप रिङ (औंठी) प्रदान गर्ने घोषणा गरेको छ। फिफाको इतिहासमा कुनै पनि प्रतियोगितामा यस्तो सम्मान दिन लागिएको यो पहिलो पटक हो। अमेरिकी खेलकुद संस्कृतिबाट प्रेरित भएर यो परम्परा विश्वकपमा भित्र्याइएको फिफाले जनाएको छ। आइतबार (नेपाली समय अनुसार सोमबार बिहान) न्युयोर्क-न्युजर्सी स्टेडियममा स्पेन र अर्जेन्टिनाबीच हुने फाइनल खेलपछि विजेता टोलीलाई यो औंठी प्रदान गरिनेछ।
​फिफाले यो प्रतियोगिताको सम्झनामा कुल २,०२६ वटा मात्र डिजिटल नम्बर अंकित औंठीहरू निर्माण गरेको छ। यीमध्ये ३० वटा औंठी विजेता टोलीका खेलाडी र मुख्य प्रशिक्षकका लागि सुरक्षित राखिएको छ भने बाँकी १,९९६ औंठीहरू विश्वभरका फुटबल प्रशंसकहरूका लागि आधिकारिक अनुमति प्राप्त उत्पादन (अफिसियल लाइसेंस्ड प्रोडक्ट) का रूपमा बिक्रीमा राखिनेछ। प्रत्येक औंठीको एकातर्फ फिफा विश्वकप ट्रफीको बुट्टा हुनेछ भने अर्कोतर्फ विजेता राष्ट्रको पहिचान झल्कने गरी कस्टमाइज गरिनेछ।
​फाइनल खेल सकिएलगत्तै मैदानमा उत्सव मनाउने क्रममा विजेता टोलीका कप्तान र मुख्य प्रशिक्षकलाई अस्थायी (प्रोभिजनल) रिङ दिइनेछ। पछि ३० जनाकै हातको नाप अनुसार स्थायी रूपमा औंठी तयार गरेर औपचारिक रूपमा हस्तान्तरण गरिने फिफाले उल्लेख गरेको छ। साविक विजेता अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ को रोमाञ्चक खेलमा हराउँदै फाइनलमा स्थान बनाएको हो भने स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई २-० ले पराजित गरी २०१० को उपाधि जितपछि पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

About Author

Advertisement