आजदेखि अवकाशप्राप्त श्रमिकहरू भोक हडतालमा

IMG-20260716-WA0086

लङभ्यू चिया बगानमा ७२ घण्टे अनशन जारी

खरसाङ: खरसाङको लङभ्यू चिया बगानका श्रमिकहरूले आफ्ना वर्षौँदेखिका बक्यौता हक र अधिकारको माग गर्दै सञ्चालन गरिरहेको आन्दोलनले आज ८४ दिन पूरा गरेको छ। आन्दोलन अन्तर्गत जारी ७२ घण्टे अनशनमा आजदेखि अवकाशप्राप्त श्रमिकहरू पनि सहभागी भएका छन्।अनशनमा बसेका अवकाशप्राप्त श्रमिकहरूमा मदन लोहागुण (६१ वर्ष), किशोर प्रधान (६६ वर्ष) र बीके लोप्चन (६४ वर्ष) रहेका छन्। जीवनको उत्तरार्धमा आरामसँग बस्नुपर्ने उमेरमा पनि आफ्नै पसिनाको कमाइ माग्न भोक हडताल गर्न बाध्य हुनुपरेको भन्दै उनीहरूले गहिरो दुःख व्यक्त गरेका छन्।
आन्दोलनकारी श्रमिकहरूका अनुसार बगानका मालिक गोविन्द गर्गले श्रमिकहरूको १२ करोड रुपैयाँभन्दा बढी भविष्य निधि (पीएफ), ग्र्याचुटी ८३,३१,४६८ रुपियाँ, एलटीए १९,६१,१७१ रुपियाँ तथा महिनौँदेखि बाँकी रहेको तलब र ज्याला भुक्तानी गरेका छैनन्। यस अवधिमा राज्यका श्रम राज्यमन्त्री, सांसद, विधायक, श्रम विभागका अधिकारीहरू तथा पीएफ अधिकारीहरू समेत अनशनस्थलमा पुगेर आन्दोलनकारीहरूसँग भेटघाट गरेका छन्। तर श्रमिकहरूको मुख्य माग अझैसम्म पूरा हुन नसकेको भन्दै आन्दोलनकारीहरूले गम्भीर असन्तोष व्यक्त गरेका छन्। श्रमिकहरूको प्रश्न छ—”यदि श्रमिकहरूको करोडौँ रुपैयाँ हिनामिना भएको छ भने मालिक गोविन्द गर्गमाथि कानुनी कारबाही किन भइरहेको छैन? राज्य सरकार र सम्बन्धित निकायहरूले दोषीमाथि कडा कदम कहिले चाल्छन्?”
आन्दोलनरत श्रमिकहरूले आफ्ना कानुनी हक सुरक्षित नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। उनीहरूका अनुसार यो केवल लङभ्यू चिया बगानको मुद्दा मात्र नभई चिया उद्योगमा कार्यरत हजारौँ श्रमिकहरूको अधिकार र न्यायसँग जोडिएको विषय हो।

About Author

Advertisement