चोपडामा डर र माफियाराजको अन्त्य हुन्छ, अब जनताले सुशासनको अनुभूति गर्नेछन्: सांसद राजु विष्ट

7c4c5335-7a94-45a3-9b6f-8dc1aa9f5c72

सिलिगुडी/चोपडा: दार्जिलिङ संसदीय क्षेत्र अन्तर्गत उत्तर दिनाजपुर जिल्लाको चोपडामा आयोजित एक विशाल जनसभालाई सम्बोधन गर्दै दार्जिलिङका लोकप्रिय लोकसभा सांसद राजु विष्टले चोपडामा दशकौँदेखि व्याप्त डर, भ्रष्टाचार र गुण्डाराजको अब अन्त्य हुने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जालमा जनसभाका केही तस्बिरहरू साझा गर्दै सांसद विष्टले चोपडा र सिंगो पश्चिम बंगालको परिवर्तनका लागि नयाँ मार्गचित्र प्रस्तुत गर्नुभएको हो।
​सांसद विष्टले तृणमूल कांग्रेस (टीएमसी) सरकारको कडा आलोचना गर्दै जनहितका लागि आएका विकास बजेटहरू टीएमसीका नेता र कार्यकर्ताका गोजीमा पुग्ने गरेको आरोप लगाउनुभयो। विगतको सरकारले राजनीतिक प्रतिशोधका कारण सांसद क्षेत्र विकास कोष लगायतका थुप्रै महत्त्वपूर्ण केन्द्रीय विकास योजनाहरू रोकेको उल्लेख गर्दै उहाँले चोपडावासीलाई अब त्यो अँध्यारो युग समाप्त भएको विश्वास दिलाउनुभयो।
​”अब चोपडा र पश्चिम बंगालमा डरको राजनीति चल्ने छैन। हाम्रा आमा-बहिनीहरू सुरक्षित हुनेछन् र युवाहरूले आफ्नै भूमिमा अवसर पाउनेछन्”, सांसद राजु विष्टले भने।
​’डबल इन्जिन’ सरकार र सुशासनको ग्यारेन्टी
प्रधानमन्त्री नरेन्द्र मोदी र पश्चिम बंगालका मुख्यमन्त्री सुवेन्दु अधिकारीको नेतृत्वमा रहेको ‘डबल इन्जिन’ सरकारले चोपडा र सिंगो राज्यको मुहार फेर्न दत्तचित्त भएर काम गरिरहेको सांसद विष्टले बताउनुभयो। नयाँ सरकारले राज्यमा कानुनको शासन बहाली गर्ने, अपराधीहरूलाई जरैदेखि उखेल्ने र लगानीमैत्री वातावरण बनाएर नयाँ उद्योग तथा रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको उहाँको भनाइ छ। अब केन्द्र र राज्य सरकारका सबै सुविधाहरू बिना कुनै बिचौलिया वा ‘कट-मनी’ सिधै जनताको हातमा पुग्ने सुनिश्चित गरिने उहाँले स्पष्ट पार्नुभयो।
​चोपडामा छुट्टै सांसद कार्यालय स्थापना गरिने
स्थानीय जनताका समस्याहरूलाई प्रत्यक्ष सम्बोधन गर्नका लागि चोपडामा चाँडै नै एउटा छुट्टै सांसद कार्यालय स्थापना गरिने सांसद विष्टले घोषणा गर्नुभयो। उक्त कार्यालयले केन्द्र र राज्य दुवै तहका समस्याहरू समाधान गर्न पुलको काम गर्नेछ। बाटोघाटो, रासन, आवास, पेन्सन, कृषकका समस्या, महिला सुरक्षा वा कुनै पनि आपराधिक घटनाका विरुद्ध पीडितहरूले सिधै सांसद कार्यालयमा आएर आफ्नो गुनासो दर्ता गराउन सक्नेछन्।
​सांसद विष्टले मुख्यमन्त्री सुवेन्दु अधिकारीको नेतृत्वमा भाजपा सरकारले सुशासनको ग्यारेन्टी दिने बताउँदै भ्रष्टाचार, अवैध उत्खनन, जग्गा कब्जा र अपराधीहरूलाई राजनीतिक संरक्षण दिने टीएमसीका नेताहरू विरुद्ध कडा कानुनी कारबाही गरिने चेतावनी दिनुभयो। “चोपडा बदलिनेछ, बंगाल बदलिनेछ र अन्ततः जनताको जित हुनेछ,” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ।

About Author

Advertisement