जयगाउँमा लागूपदार्थ विरुद्ध बृहत् सचेतना कार्यक्रम सम्पन्न

4b69922e-2bf5-4ae4-a7af-8155e51accb1

कुलतलाई नाँई र जीवनलाई रोजौँ’ भन्ने संकल्प

जयगाउँ: लागूपदार्थको बढ्दो दुरुपयोग र यसको रोकथामका उपायहरूबारे समुदाय एवं युवा पुस्तालाई सचेत गराउने उद्देश्यले पश्चिम बंगालको सीमावर्ती सहर जयगाउँस्थित अग्रसेन भवनमा एक महत्त्वपूर्ण सचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। जयगाउँ पुलिस र अलिपुरद्वार जिल्ला पुलिसको संयुक्त आयोजनामा सञ्चालित यस कार्यक्रममा सिक्किम सरकारका मन्त्री विशाल लामाको गरिमामयी उपस्थिति रहेको थियो।
​सामाजिक सञ्जालमा कार्यक्रमका केही तस्बिरहरू साझा गर्दै मन्त्री विशाल लामाले यस्तो संवेदनशील र समयसान्दर्भिक कार्यक्रम आयोजना गरेकोमा जयगाउँ प्रहरी तथा अलिपुरद्वार जिल्ला प्रहरीप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ। उहाँले लागूपदार्थको दुरुपयोग समाज र विशेष गरी युवा पुस्ताका लागि ठूलो चुनौती र खतरा बनेको बताउनुभयो।
​”सामूहिक सचेतना, शिक्षा र सामुदायिक सहभागिताको माध्यमबाट मात्र हामीले एक स्वस्थ, सुरक्षित र नशामुक्त भविष्यको निर्माण गर्न सक्छौँ। आउनुहोस्, हामी सबै मिलेर कुलतलाई नाँई र जीवनलाई रोजौँ भन्ने संकल्प गरौँ”, मन्त्री विशाल लामा ले भने।
उक्त उच्च स्तरीय सचेतना कार्यक्रममा अलिपुरद्वारका पुलिस अधीक्षक (एसपी) अमितकुमार शा (आईपीएस), विभागीय वन अधिकारी (डीएफओ) परवीन क्रोवान (आईएफएस), अतिरिक्त पुलिस अधीक्षक अर्का बनर्जी (आईपीएस), जयगाउँका एसडीपीओ डा. सोमनाथ झा, एसएसबी ५३ बटालियनका असिस्टेन्ट कमाण्डेन्ट दीपक राईताते र डेपुटी मजिस्ट्रेट नोर्बु शेर्पा (डब्ल्यूबीसीएस) को विशेष उपस्थिति रहेको थियो।
​यसैगरी, कार्यक्रममा डा. नीलाञ्जन मण्डल, डेपुटी अन्तःशुल्क कलेक्टर देवद्युति दत्त, ड्रग्स इन्स्पेक्टर मोनोगोपाल आदित्य, जयगाउँ थानाका प्रभारी (ओसी) मिङ्मा शेर्पा लगायत विभिन्न विद्यालयका शिक्षक-शिक्षिका र सयौँको संख्यामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमले युवाहरूलाई सचेत गराउँदै समाजमा लागूपदार्थ विरुद्ध साझा मोर्चा तयार पार्न बलियो जग बसालेको विश्वास लिइएको छ।

About Author

Advertisement