३० मईः चमत्कारी कप्तान हार्दिक पाण्ड्याको असाधारण अलराउण्ड प्रदर्शनको दममा गुजरात टाइटन्सले आइतवार राति खेलिएको इण्डियन प्रीमियर लीग (आईपीएल) २०२२-को फाइनलमा राजस्थान रोयल्स विरुद्ध ७ विकेटले एकतर्फी जीत हासिल गऱ्यो। यसको साथै गुजरात टाइटन्सले आफ्नो पहिलो सत्रमै च्याम्पियन बन्ने गौरव हासिल गऱ्यो। म्याचको १९औं ओभरमा ओबेड म्याकयको पहिलो बलमै छक्का लगाएर शुभमन गिलले जीतको औपचारिकता पूरा गर्नको साथै स्टेडियममा उपस्थित एक लाखभन्दा अधिक दर्शकहरूले ताली बजाएर मैदान थर्काए।

एउटा नयाँ टोलीलाई विश्वको सबैभन्दा भव्य अनि लोकप्रिय टी-२० लीगमा च्याम्पियन बनाउने श्रेय अरू कसैलाई नभएर कप्तान हार्दिक पाण्ड्यालाई जान्छ। हार्दिकले पहिला ४ ओभरमा केवल १७ रन खर्च गरी ३ विकेट लिए। यसैकारण राजस्थान रोयल्सको टीम ९ विकेट गुमाएर १३० रनको स्कोरसम्म मात्र पुग्न सक्यो। त्यसपछि लक्ष्यलाई खेदो गर्दै गुजरातका कप्तानले २ विकेट चाँड़ै पतन भएपछि ३० बलमा ३४ रन बनाएर टीमलाई दबाउबाट बाहिर निकाले। यसरी टाइटन्सले ११ बल र ७ विकेट बाँकी रहँदै म्याच झोलीमा हाल्यो। ओपनर गिलले ४३ बलमा ३ वटा चौका र एउटा छक्काको सहायताले अविजित ४५ र डेविड मिलरले १९ बलमा अविजित ३२ रन बनाए, जसमा ३ वटा चौका र एउटा छक्का सामेल छ। गुजरातले म्याचमा रिद्धिमान साहा (५) र म्याथ्यू वेड (८)-को विकेट चाहिँ शुरुमै गुमायो तर लक्ष्य सानो रहेको हुनाले टीमलाई जीत हासिल गर्नमा असुविधा भएन। गुजरात टाइटन्सको टीम आईपीएलको लीग चरणमा पनि सर्वाधिक पोइण्ट्स लिएर शीर्ष स्थानमा रहेको थियो।

यसअघि राजस्थान रोयल्सका कप्तान सञ्जु सेमसनले टस जितेर पहिला ब्याटिंग गर्ने फसेला गरे तर उनीहरूका कुनै पनि ब्याटरले विकेटमा समय बिताउन सकेनन्। यसरी नै घरेलु मैदानमा एक लाखभन्दा अधिक दर्शकहरूका समर्थन पाउने गुजरातका बलरहरूले विपक्षी टीममाथि शुरुदेखि नै दबाउ सृष्टि गरे। रोयल्सबाट जोस बटलर (३५ बलमा ३९) र यशस्वी जयसवाल (१६ बलमा २२ रन)-ले मात्र केही योगदान दिन सके। यी दुईबाहेक रियान परागले १५, कप्तान सेमसनले १४ र शिमरन हेटमायरले ११ रन बनाए।

गुजरातका बलरहरूमा हार्दिकबाहेक रविश्रीनिवासन साई किशोरले २ तथा मोहम्मद शमी, यश दयाल र राशिद खानले १-१ विकेट लिए। राजस्थान रोयल्सको टीमलाई यशस्वीले आक्रामक शुरुवात दिलाए पनि लगातार अन्तरालमा विकेटको पतन हुँदा टीमले रन रेटलाई उकास्न सकेन। उल्लेखनीय छ, आईपीएलमा सर्वाधिकपल्ट च्याम्पियन बन्ने रेकर्ड (वर्तमान टीमहरूबीच) मुम्बई इण्डियन्सको नाममा रहेको छ। रोहित शर्माको कप्तानीमा मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२०-मा ट्रफी जितेको थियो। यसरी नै चेन्नई सुपर किंग्सले दोस्रो सर्वाधिक चारपल्ट (२०१०, २०११, २०१८ र २०२१) खिताब जितेको छ। कलकत्ता नाइट राइडर्सको टीमले २०१२ र २०१४-मा ट्रफी जितेको थियो। यसरी नै राजस्थान रोयल्स (२००८), सनराइजर्स हैदराबाद (२०१६) र गुजरात टाइटन्स (२०२२)-ले १-१ पल्ट खिताब जितेको छ।