हरित सिक्किम र महिला सशक्तीकरणमा जोड
गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ-गोलेको दूरदर्शी नेतृत्वबाट प्रेरित भई वन तथा पर्यावरण विभागको आयोजनामा आज यहाँस्थित चिन्तन भवनमा एक दिवसीय ‘महिला वन तथा पर्यावरण सम्मेलन’ भव्यताका साथ सम्पन्न भएको छ। पर्यावरण संरक्षण र दिगो विकासमा महिलाहरूको सक्रिय सहभागितालाई प्रोत्साहन गर्दै हरित सिक्किमको परिकल्पनालाई साकार पार्ने उद्देश्यले यस सम्मेलनको आयोजना गरिएको हो।
यस विशेष समारोहमा सिक्किम विधानसभाकी उप-सभामुख राजकुमारी थापा मुख्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। यसका साथै कार्यक्रममा गान्तोककी मेयर छिरिङ पाल्डेन, बुर्तुक निर्वाचन क्षेत्रकी विधायक कला राई, नत्थान-माछोङ निर्वाचन क्षेत्रकी विधायक पामिन लेप्चा र उप-मेयर सारा लामाको विशिष्ट उपस्थिति रहेको थाहा लागेको छ। समारोहमा विभिन्न सरकारी काउन्सिलर सदस्यहरू, विभिन्न स्वयं सहायता समूह (एसएचजी) का प्रतिनिधिहरू, विद्यार्थीहरू तथा विभिन्न क्षेत्रका गणमान्य व्यक्तिहरूको बाक्लो सहभागिता थियो।

यो सम्मेलन महिला सशक्तीकरण, पर्यावरण संरक्षण र दिगो विकासप्रतिको सामूहिक प्रतिबद्धतालाई थप सुदृढ बनाउन एउटा महत्त्वपूर्ण मञ्च साबित भएको छ। कार्यक्रममा पर्यावरण चेतना अभिवृद्धि गर्ने, रचनात्मक विचारहरूको आदानप्रदान गर्ने र आगामी पुस्ताका लागि एक हरित एवं दिगो भविष्य निर्माण गर्न सामूहिक प्रयासहरूलाई प्रेरित गर्ने विषयमा गहन छलफल भएको थियो।











