पाक्यङमा पहिलो समन्वय बैठक सम्पन्न
पाक्यङ: आगामी ८०औँ जिल्ला स्तरीय स्वतन्त्रता दिवस समारोहलाई भव्य र सुव्यवस्थित रूपमा मनाउनका लागि आज यहाँस्थित डीडीएमए कन्ट्रोल हलमा पहिलो समन्वय बैठक सम्पन्न भएको छ।
पाक्यङकी जिल्लापाल (डिस्ट्रिक्ट कलेक्टर) सुश्री परी विश्नोईको अध्यक्षतामा आयोजित उक्त उच्च स्तरीय बैठकमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुश्री पारू रुचाल, अतिरिक्त जिल्लापाल (मुख्यालय) श्री सबिन्द्र राई, महकुमा अधिकारी (मुख्यालय) श्री थेन्डुप लेप्चा र महकुमा अधिकारी (पाक्यङ) श्री एन.के. भण्डारीको विशेष उपस्थिति रहेको थियो। बैठकमा नगरपालिका अध्यक्ष, विभिन्न सरकारी विभागका विभागीय प्रमुखहरू, सेन्ट जेभियर्स स्कूलका प्रधानाध्यापकका साथै स्वतन्त्रता दिवस फुटबल समारोह समितिका पदाधिकारीहरूको बाक्लो उपस्थिति थियो।
बैठकमा आगामी स्वतन्त्रता दिवसको पूर्वतयारीबारे विस्तृत समीक्षा गरियो। राष्ट्रिय पर्वलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न विभागहरूलाई जिम्मेवारी सुम्पिनुका साथै कार्यहरूलाई चुस्त र प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न उप-समितिहरू समेत गठन गरिएको छ।

यस क्रममा औपचारिक परेड, झण्डोत्तोलन, सांस्कृतिक कार्यक्रम, मञ्च सजावट, सुरक्षा व्यवस्था, ट्राफिक व्यवस्थापन, आकस्मिक चिकित्सा सहायता, सरसफाइ, खानेपानी आपूर्ति, बस्ने व्यवस्था र ध्वनि प्रणाली (साउन्ड सिस्टम) लगायतका विविध सांगठनिक पक्षहरूमाथि गहन छलफल भएको थियो।
बैठकले यस वर्षको ८०औँ जिल्ला स्तरीय स्वतन्त्रता दिवस समारोह स्थानीय सेन्ट जेभियर्स स्कूलको खेल मैदानमा भव्यताका साथ आयोजना गर्ने निर्णय गरेको छ।









