​सिक्किममा छुट्टै एनसीसी ग्रुप मुख्यालय स्थापना अन्तिम चरणमा

FB_IMG_1784042937864

एडीजी मेजर जनरल चहलद्वारा राज्यपाल माथुरसँग शिष्टाचार भेट

गान्तोक: सिक्किमका युवाहरूलाई राष्ट्र निर्माणमा अझ बढी सहभागी गराउने र एनसीसीका गतिविधिहरूलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ सिक्किममा एउटा नयाँ स्वतन्त्र एनसीसी ग्रुप मुख्यालय स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।
​राष्ट्रिय क्याडेट कोर एनसीसी) पश्चिम बंगाल र सिक्किम निर्देशनालयका अतिरिक्त महानिदेशक (एडीजी) मेजर जनरल ए.पी.एस. चहल, एसएम (एसएम)ले आज लोकभवनमा सिक्किमका माननीय राज्यपाल श्री ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गरी यस विषयमा विस्तृत जानकारी गराउनुभएको हो। उक्त भेटघाटको अवसरमा ब्रिगेडियर विवेक मलिकको पनि उपस्थिति रहेको थियो।
​भेटका क्रममा मेजर जनरल चहलले राज्यपाल महोदयलाई अवगत गराउनु भए अनुसार, हाल पश्चिम बंगालसँग संयुक्त रूपमा संचालित हुँदै आएको एनसीसी ग्रुप मुख्यालयलाई अब सिक्किममा छुट्टै र स्वतन्त्र रूपमा स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यस स्वतन्त्र मुख्यालयको स्थापनापछि सिक्किम राज्यभित्र एनसीसीका सम्पूर्ण गतिविधिहरू अझ बढी सशक्त र प्रभावकारी ढंगले सञ्चालन हुनेछन्।
​कुराकानीका क्रममा एनसीसीद्वारा हाल संचालित विभिन्न आधुनिक तथा सिर्जनशील गतिविधिहरूबारे पनि विस्तृत छलफल भएको थियो। जसमा विशेष गरी क्याडेटहरूका लागि ड्रोन प्रशिक्षण, साइबर सुरक्षा कोर्स, आइडिया इनोभेसन, साहसिक खेलकुद (एडभेन्चर) र खेलकुद गतिविधिहरू मुख्य रहेका छन्।
​सिक्किम एउटा सीमावर्ती र रणनीतिक रूपमा निकै महत्वपूर्ण राज्य भएको चर्चा गर्दै माननीय राज्यपाल श्री ओम प्रकाश माथुरले राज्यको समग्र विकास र राष्ट्र निर्माणमा युवा शक्तिको सहभागिता अपरिहार्य रहेको बताउनुभयो। उहाँले सिक्किमका विद्यालय तथा महाविद्यालयहरूमा एनसीसी क्याडेटहरूको संख्या बढाउनुपर्ने कुरामा जोड दिँदै यसका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो।
​भेटघाटको अन्त्यमा मेजर जनरल ए.पी.एस. चहलले एनसीसीका युवा-केन्द्रित अभियानहरूका लागि राज्यपाल महोदयले पुर्‍याउँदै आउनुभएको निरन्तर सहयोग र मार्गदर्शनप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

About Author

Advertisement