बैङ्ककको चर्चित बारमा भीषण आगलागी: २७ जनाको मृत्यु, २२ गम्भीर

Fire-in-bangkok-pub-1783887161501

बैङ्कक: ​थाइल्यान्डको राजधानी बैङ्ककस्थित एउटा चर्चित बारमा आइतवार राति भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। घटनामा २२ जना गम्भीर घाइते भएका छन् भने अन्य कयौँ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
​बैङ्ककको ज्याटुज्याक क्षेत्रमा रहेको रङ बिअर ना लाट फ्राओ नामक रेस्टुराँ एवं मनोरञ्जन केन्द्रमा मध्यराततिर आगो सल्किएको हो। प्रत्यक्षदर्शीका अनुसार मञ्च (स्टेज) नजिकैबाट सुरु भएको आगो एकाएक पूरै भवनमा फैलिएको थियो। आगो लाग्नासाथ भवनको विद्युत् आपूर्ति बन्द भएपछि निसास्सिएका ग्राहकहरूबीच भागदौड मच्चिएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भिडिओहरूमा मानिसहरू चिच्च्याउँदै बाहिर भागिरहेको र कतिपयको कपडामै आगो लागिरहेको विभत्स दृश्य देखिन्छ।
​शौचालयमा भेटिए अधिकांश शव
घटनास्थल पुगेका अग्निनियन्त्रकहरूले आधा घण्टामै आगो नियन्त्रणमा लिए पनि त्यतिन्जेलसम्म ठूलो मानवीय क्षति भइसकेको थियो। उद्धारकर्मीहरूका अनुसार अधिकांश मृतकको शव शौचालयमा फेला परेको छ। आगो र धुवाँबाट बच्नका लागि मानिसहरूले शौचालयमा ओत लिएको र त्यहीँ निसास्सिएर ज्यान गएको अनुमान गरिएको छ। मृतकहरूमा ९ पुरुष र १८ महिला रहेका छन्।
​विद्युतीय शर्ट सर्किट र ज्वलनशील सामग्री कारण
प्रारम्भिक अनुसन्धानमा एअर कन्डिशनरमा भएको विद्युतीय शर्ट सर्किटको कारण आगो लागेको सङ्केत मिलेको छ। बैङ्ककका गभर्नरका अनुसार बारभित्र सजाइएका सामग्रीहरू अत्यधिक ज्वलनशील भएकाले आगो निकै तीव्र गतिमा फैलिएको हो। साथै, सामान बेच्न राखिएका टेबलहरूले निकास द्वार (एक्जिट डोर) छेकेका कारण पनि मानिसहरूले समयमै ज्यान जोगाउन नसकेको पाइएको छ।
​थाई प्रधानमन्त्री अनूतिन चान्वीरकूनले सोमवार बिहानै घटनास्थलको निरीक्षण गरी घटनाको उच्चस्तरीय अनुसन्धान गर्न निर्देशन दिएका छन्। थाइल्यान्डमा अग्नि सुरक्षा मापदण्ड फितलो हुँदा यसअघि सन् २०२२ र २००९ मा पनि यस्तै भयावह क्लब आगलागीमा परी कयौँले ज्यान गुमाएका थिए। स्थानीय प्रशासनले उक्त भवनलाई ३० दिनका लागि सिल गर्दै पीडित परिवारलाई आर्थिक राहतको घोषणा गरेको छ।

About Author

Advertisement