कालचिनी: पश्चिम बङ्गाल सरकारका राज्यमन्त्री एवं स्थानीय विधायक विशाल लामाले सन् २००८ मा मेचपारा चिया बगानमा भएको मर्मान्तिक दुर्घटनामा ज्यान गुमाएका श्रमिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। डुवार्स अन्तर्गत कालचिनी ब्लकको मेचपारा नम्बर ८ चिया बगानमा आयोजित वार्षिक श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुँदै उनले दिवंगत श्रमिकहरूको स्मृतिमा पुष्पगुच्छा चढाएका हुन्।
उक्त दुःखद घटनाको स्मरण गर्दै मन्त्री लामाले विगतको त्यो त्रासदीले केही सीमित परिवारलाई मात्र नभएर सम्पूर्ण क्षेत्रलाई नै गहिरो पीडा र शोकमा डुबाएको उल्लेख गरे। दुर्घटनामा असामयिक रूपमा ज्यान गुमाउने श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूको योगदानको सम्मानमा हरेक वर्ष यो स्मृति दिवस मनाइँदै आइएको छ।
”घटनापछि प्रत्येक वर्ष यही दिन दिवंगत श्रमिकहरूको स्मृतिलाई सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गर्ने परम्परा निरन्तर रूपमा कायम रहँदै आएको छ,” मन्त्री लामाले भने, “यस पवित्र परम्परामा सहभागी हुन पाउनु मेरो लागि नागरिक र जनप्रतिनिधि दुवै हिसाबले सम्मान र कर्तव्य हो।”
सम्बोधनका क्रममा उनले दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना समेत व्यक्त गरे। उक्त भयानक दुर्घटनाको झण्डै दुई दशक बित्न लाग्दा पनि बगान क्षेत्रका श्रमिकहरूको सम्झना र सम्मान स्थानीय नागरिकको हृदयमा सदैव अमर रहने धारणा उनले व्यक्त गरे। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, श्रमिक सङ्गठनका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।








