उत्तर कन्यामा बन्द चिया बगानबारे मन्त्री अर्जुन सिंहको उच्चस्तरीय बैठक

FB_IMG_1783872916875

श्रमिकको बक्यौता नतिरे मालिकलाई जेल हाल्ने चेतावनी

सिलगढी: उत्तर बङ्गलाका बन्द चिया बगानहरूको समस्या समाधान गर्न र श्रमिकहरूको हित रक्षाका लागि राज्य सरकारले कडा कदम चाल्ने संकेत दिएको छ। पश्चिम बङ्गलाका श्रम तथा यातायात मन्त्री अर्जुन सिंहको अध्यक्षतामा आइतबार उत्तर कन्यामा एक उच्चस्तरीय समीक्षा बैठक सम्पन्न भयो। बैठकमा उत्तर बङ्गलाका ३० भन्दा बढी बन्द चिया बगानहरूको वर्तमान स्थिति, श्रमिकहरूको कल्याण, बाँकी बक्यौता भुक्तानी र बगानहरू पुनः सञ्चालन गर्ने सम्भावनाहरूमाथि विस्तृत छलफल भएको छ।
​उक्त महत्त्वपूर्ण बैठकमा राज्यमन्त्री आनन्दमय बर्मन, श्रम विभागका सचिव, उत्तर बङ्गला विकास मन्त्री निसिथ प्रामानिक, दार्जीलिङका सांसद राजु विष्ट, अलिपुरद्वारका सांसद मनोज तिग्गा, जलपाईगुडीका सांसद जयन्त कुमार रोय लगायत विभिन्न जिल्लाका विधायकहरू र जिल्ला प्रशासनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यसका साथै श्रम आयुक्त, चिया निर्देशनालयका अधिकारीहरू, विभिन्न ट्रेड युनियनका प्रतिनिधिहरू र बन्द चिया बगानका व्यवस्थापन पक्षका अधिकारीहरू पनि बैठकमा सहभागी थिए।
​बैठकमा विशेष गरी श्रमिकहरूको भुक्तानी हुन बाँकी ज्याला, सञ्चय कोष (पीएफ), उपदान (ग्रेच्युटी) र सामाजिक सुरक्षा भत्ता जस्ता संवेदनशील विषयहरूमा केन्द्रित रहेर बहस भएको थियो। केही चिया बगानहरू गैरकानूनी रूपमा सञ्चालन भइरहेको र केहीलाई नियतवश बन्द गरेर श्रमिकहरूलाई मर्कामा पारिएको निष्कर्ष बैठकले निकालेको छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अर्जुन सिंहले श्रम कानून उल्लङ्घन गर्ने बगान मालिकहरू विरुद्ध राज्य सरकार कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिनुभयो। उहाँले श्रमिकहरूको सञ्चय कोष, उपदान र ज्याला जस्ता न्यायोचित हक अधिकार रोकेर राख्ने मालिकहरू विरुद्ध कडा कानूनी कारबाही गरिने र आवश्यक परे जेल समेत पठाइने स्पष्ट पार्नुभयो। राज्य सरकारले श्रम कानूनको उल्लङ्घनलाई कुनै पनि हालतमा सहन नगर्ने मन्त्रीले दोहोर्‍याउनुभयो।
​सरकारले गैरकानूनी रूपमा बगान बन्द गर्ने र नियम उल्लङ्घन गर्ने मालिकहरूलाई सरकारी निर्देशन पालना गर्न एक महिनाको अन्तिम समयसीमा (डेडलाइन) तोकेको छ। यदि तोकिएको अवधिभित्र बक्यौता चुक्ता नगरे र बगानको समस्या समाधानमा चासो नदेखाएमा मालिकहरू विरुद्ध तुरुन्तै कानूनी प्रक्रिया सुरु गरी कारागार चलान गरिने मन्त्री सिंहले घोषणा गर्नुभएको छ।

About Author

Advertisement