पहाडको विकास सरकारको मनमा रहेको र पहाड विकास गर्नेछौं: रथिन्द्रनाथ बोस
खरसाङ: पश्चिम बंगाल विधानसभाको अध्यक्ष रथिन्द्रनाथ बोस दार्जिलिङ पहाड भ्रमण गरेर फर्किने क्रममा खरसाङमा विधायक सोनाम लामा लगायत भारतीय जनता पार्टीको पदाधिकारीहरु र कार्यकर्ताहरुले स्वागत जनाएका छन्। गत केही दिन अघि दार्जिलिङ पहाडको भ्रमणमा आएका विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोस आज खरसाङ भएर फर्किने क्रममा खरसाङको टुरिस्ट लजमा खरसाङ विधायक सोनाम लामा साथै भारतीय जनता पार्टीको पदाधिकारीहरुले भेटघाट गरेका छन्। यस क्रममा विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसलाई खदार्पणसहित स्वागत जनाइएको छ। उनले खरसाङका विधायक सोनाम लामा साथै भारतीय जनता पार्टीको पदाधिकारीहरुसित भलाकुसारी पनि गरेका थिए। विधानसभा अध्यक्षले दार्जिलिङ पहाडको विभिन्न शैक्षिक संस्थानहरुको भ्रमण गरेका थिए। फर्किने क्रममा खरसाङ पत्रकारहरुसित कुराकानी गर्दै विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसले आफु उत्तर बंगालको भ्रमणमा आएको यहाँको जनताको विभिन्न समस्याहरुलाई बुझ्न र समाधान गर्न उपायहरुको लागि आएको बताएका छन्। उनले दार्जिलिङ पहाड विगतमा भारतकै लागि शिक्षाको लागि राम्रो थियो तर अहिले तेस्तो थिएन भन्दै दार्जिलिङलाई उत्तर बंगालको मुटुक बताएका छन्। उनले मुकुटलाई सफा र सुरक्षित राख्नुपर्ने बताए। विधानसभा अध्यक्ष बोसले पहाडको विकास सरकारको मनमा रहेको र विकास गर्नेछौं भनी बताएका छन्।

यसको साथै पश्चिम बंगाल विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोससित भेटघाट गरेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै विधायक सोनाम लामाले विधानसभा अध्यक्ष हालमा पहाडको भ्रमण गर्दै शैक्षिक संस्थानहरुको पनि भ्रमण गरिरहेकोले आफुले हिल युनिभर्सिटीको सञ्चालन, निर्माण कार्य पूरा भएको प्रेसिडेन्सी कलेज विषयमा जानकारी गराएको बताए। उनले पहाडमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गर्ने बताएका छन्।











