रामायण पाठमा लाछेन मङ्गन निर्वाचन क्षेत्र प्रथम
मङ्गन: सोरेंगमा जारी २१२औँ राष्ट्रिय भानु जयन्ती समारोह २०२६ को अवसरमा आयोजित अन्तर-निर्वाचन क्षेत्र स्तरीय रामायण पाठ प्रतियोगितामा मङ्गन जिल्लाको लाछेन मङ्गन निर्वाचन क्षेत्रका विद्यार्थी टोलीले प्रथम स्थान हासिल गर्दै जिल्लाकै गौरव बढाएका छन्। “भाषा साहित्य विकास एवं जातीय सद्भावना” भन्ने मूल नाराका साथ आयोजित यस गरिमामय समारोहमा मङ्गन जिल्लाका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका हुन्। संस्कृति मन्त्री जीटी ढुङ्गेल, सोरिङ-चाकुङका विधायक आदित्य गोले, वरिष्ठ अधिकारीहरू, ख्यातिप्राप्त साहित्यिक व्यक्तित्वहरू तथा सांस्कृतिक अभियन्ताहरूको समुपस्थितिमा विद्यार्थीहरूले आफ्नो कला प्रस्तुत गरेका थिए। दुर्गा खरेल, डेजी बराइली र दावा ग्याल्मो सम्मिलित विशेषज्ञ निर्णायक मण्डलले गरेको मूल्याङ्कनका आधारमा लाछेन मङ्गन निर्वाचन क्षेत्र पहिलो घोषित भएको हो भने नाम्ची जिल्लाको तेमी नामफिङ निर्वाचन क्षेत्र दोस्रो र पाकिम जिल्लाको नाम्चेबुङ निर्वाचन क्षेत्र तेस्रो भएका छन्।
यसअघि जुन महिनामा मङ्गनका जिल्लापाल अनन्त जैनको मार्गनिर्देशनमा जिल्ला स्तरीय छनोट प्रतियोगिता आयोजना गरिएको थियो, जसमा शिक्षा विभाग र अन्य सम्बद्ध विभागका वरिष्ठ अधिकारीहरूको समिति सक्रिय रहेको थियो। जिल्ला शिक्षा कार्यालयकी संयोजक प्रमिला देवकोटाको नेतृत्वमा प्रारम्भिक चरणदेखि जिल्ला तहसम्मका सम्पूर्ण व्यवस्थाहरू मिलाइएका थिए। जिल्लाभरिका विभिन्न विद्यालयका विद्यार्थीहरूले यस छनोट प्रक्रियामा उत्साहजनक रूपमा भाग लिएका थिए। प्रमिला देवकोटा, दिनेश सापकोटा, रमेश काफ्ले र किङ्गा शेर्पा सम्मिलित चार सदस्यीय निर्णायक मण्डलको सूक्ष्म मूल्याङ्कनपछि मङ्गन जिल्लाको प्रतिनिधित्व गर्नका लागि १२ जना विद्यार्थीहरू चयन भएका थिए।
चयन भएका विद्यार्थी टोलीमा सोफिया वोर्सी थापा, सोनु सुब्बा, सिस्तिका लिम्बू, समीक्षा गुरुङ, स्मृति माया राई, सचिना क्षेत्री, प्रनिशा क्षेत्री, ईश्वरी खर्का, ईश्वीरिका तामाङ, दिपशिखा नेपाल, हेलिना तामाङ र प्रनिशा शर्मा रहेका छन्। यस टोलीले गत ९ जुलाई २०२६ का दिन सोरिङमा आयोजित राज्य स्तरीय रामायण पाठ प्रतियोगितामा मङ्गन जिल्लाको प्रतिनिधित्व गर्दै ऐतिहासिक जित दर्ता गराएको हो। राज्य स्तरमा प्रथम बनेको यो टोलीले अब आगामी १३ जुलाई २०२६ मा सोरिङमै आयोजना हुने राष्ट्रिय स्तरको मुख्य भानु जयन्ती समारोहमा रामायण पाठ प्रस्तुत गर्ने गौरव प्राप्त गरेको छ।
यस ऐतिहासिक सफलतापछि जिल्ला स्तरीय समितिले प्रतियोगितालाई सफल बनाउन विभिन्न तहमा सक्रिय भूमिका निभाउने सम्पूर्ण सरोकारवालाहरू प्रति धन्यवाद एवं आभार प्रकट गरेको छ।










