प्रीमियर लीगः रोनाल्डो बिना म्यानचेष्टर युनाइटेडको यादगार जीत, चेल्सीको ड्र

IMG-20221020-WA0094.jpg

२० अक्टोबरः क्रिस्टियानो रोनाल्डो बिना मैदानमा ओर्लिने म्यानचेष्टर युनाइटेडले ईंग्लिश प्रीमियर लीग फूटबलमा यस सीजनको सबैभन्दा यादगार जीत हासिल गऱ्यो। यसरी नै लिभरपूलले पनि आफ्नो म्याच जित्यो जबकि चेल्सी चाहिँ ड्र-मा अल्झियो। स्टार स्ट्राईकर रोनाल्डोलाई बेञ्चमा राखेर मैदानमा ओर्लिने म्यानचेष्टर युनाइटेडले बुधवार राति खेलिएको म्याचमा लयमा रहने टोटनह्याम हट्स्परलाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने युनाइटेडले म्याचको दुवै गोल मध्यान्तरपछि हासिल गऱ्यो। फ्रेडले ४७औं मिनटमा अनि ब्रूनो फर्नाण्डेजले ६९औं मिनटमा गोल गरी एरिक टेन हेगको टीमलाई यस सीजनको सबैभन्दा यादगार जीत दिलाए। म्याचमा म्यानचेष्टर युनाइटेड अघि टोटनह्यामको कुनै शीप चलेन। यसबीच बेञ्चमा रहेर समय बिताउने रोनाल्डोलाई म्याचको अन्तिम समयमा रिसाएर ड्रेसिंग रूम तर्फ गइरहेको देखियो। यस महत्त्वपूर्ण जीतको साथ म्यानचेष्टर युनाइटेड १० वटा म्याचमा १९ पोइण्टको साथ प्रीमियर लीग टेबलको पाँचौं स्थानमा पुग्यो। यसरी प्रीमियर लीग सीजनमा दोस्रोपल्ट हारको सम्मुखीन हुने टोटनह्याम ११ वटा म्याचमा २३ पोइण्टको साथ गोल अन्तरको आधारमा तेस्रो स्थानमा कायम रह्यो।

यसबीच लिभरपूलले वेष्ट ह्याम युनाइटेड विरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। होम ग्राउण्ड एनफील्डमा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलबाट एकमात्र गोल डार्विन नुनेजले २२औं मिनटमा छिराए। यस जीतपछि लिभरपूल १० वटा म्याचमा १६ पोइण्टको साथ सातौं स्थानमा पुग्यो। यसरी नै १३औं स्थानमा रहने वेष्ट ह्यामसँग ११ पोइण्ट रहेको छ। गत केही समयदेखि लगातार जीत हासिल गर्ने चेल्सीको अभियानमा चाहिँ ब्रेण्टफोर्डले ब्रेक लगायो। यी दुई टीमबीच खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। म्याचमा चेल्सीको धलिमलि रहे पनि गोल हुन सकेन। यस ड्र पछि चेल्सी १० वटा म्याचमा २० पोइण्टको साथ चौथो स्थानमा रहन पुग्यो। अहिले चेल्सीसँग पाँचौं स्थानमा रहने म्यानचेष्टर युनाइटेडभन्दा केवल १ पोइण्ट अधिक रहेको छ। यसरी नै ब्रेण्टफोर्ड ११ वटा म्याचमा १४ पोइण्टको साथ नवौं स्थानमा रहेको छ।

यसबीच शीर्ष दुई स्थानमा रहने आर्सनल र म्यानचेष्टर सिटीबीच खेलिने म्याचलाई चाहिँ स्थगित गरिएको छ। यूएफा यूरोपा लीगमा बिहीवार राति आर्सनलको म्याच रहेको हुनाले यस म्याचलाई स्थगित राखिएको छ। आर्सनल अहिले २७ पोइण्टको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा क्रिस्टल प्यालेसले वूल्भरह्याम्प्टन (वूल्भ्स)-लाई २-१-ले पराजित गऱ्यो। यसरी नै साउथम्प्टनले बोर्नमाउथ विरुद्ध अनि न्यूक्यासलले एभर्टन विरुद्ध १-०-को समान अन्तरले जीत हासिल गऱ्यो। ब्राइटन र नटिंघम फरेष्ट एफसी-बीच खेलिएको म्याच चाहिँ गोररहित ड्र (०-०)-मा समाप्त भयो। न्यूक्यासल अहिले ११ वटा म्याचमा १८ पोइण्टको साथ छैटौं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement