​’सिक्किम पर्यावरण पर्व २०२६’: पर्यावरण जोगाउन नाम्चीमा ‘ग्रीन वाक’

ba26fca0-5bcd-44b8-a07f-406ea7f8737d

नाम्ची: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको ‘स्वच्छ, हरियाली र पर्यावरणीय दृष्टिकोणले दिगो सिक्किम’ को परिकल्पनालाई साकार पार्ने उद्देश्यका साथ आज नाम्चीमा एक भव्य ‘ग्रीन वाक’ (हरित पदयात्रा) आयोजना गरिएको छ। वन तथा पर्यावरण विभाग (नाम्ची) द्वारा आयोजित यो कार्यक्रम १ देखि १४ जुलाईसम्म मनाइँदै गरेको ‘सिक्किम पर्यावरण पर्व २०२६’ अन्तर्गत सम्पन्न भएको हो। यस वर्ष पर्यावरण पर्वको मुख्य नारा “एउटा हरित विरासत छोडौँ” (लिव अ ग्रीन लेगासी) राखिएको छ।
​विभागीय वन अधिकारी (डि.एफ.ओ.) छेटेन तासी लेप्चाको मार्गनिर्देशनमा आयोजित यस ग्रीन वाकमा सामाजिक वन विभाग, वन्यजन्तु विभाग, माटो तथा पर्यावरण विभागका डिपिओहरू, सहायक वन संरक्षक (एसीएफ) हरूका साथै वन तथा पर्यावरण विभागका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमले पर्यावरण संरक्षण र दिगो विकासप्रति सामूहिक प्रतिबद्धतालाई उजागर गरेको छ।
​पदयात्राको मुख्य उद्देश्य वनजङ्गलको संरक्षण, जैविक विविधताको बचावट, प्रदूषण नियन्त्रण र पर्यावरण रक्षाका लागि जनमानसमा सामूहिक जिम्मेवारीको भावना जागृत गराउनु थियो। “द ग्रीन वाक– लिभिङ ए ग्रीन लेगेसी” लेखिएका ब्यानर र प्लेकार्डसहित सडकमा उत्रिएका सहभागीहरूले सर्वसाधारणलाई पर्यावरणीय संरक्षणमा सक्रिय भूमिका निभाउन प्रेरित गरेका थिए।
​वन तथा पर्यावरण विभागले पर्यावरण अनुकूल बानीहरू अपनाएर सिक्किमको समृद्ध प्राकृतिक सम्पदालाई जोगाउन र राज्यको स्वच्छ वातावरणलाई भावी पुस्ताका लागि एउटा दिगो उपहारका रूपमा सुरक्षित राख्न सर्वसाधारणसँग अपिल समेत गरेको छ।

About Author

Advertisement