सिलगढी: सिलगढी पुलिस कमिश्नरेट अन्तर्गतको स्पेशल अपरेसन ग्रुप (एसओजी) र भोरर आलो थाना पुलिसको संयुक्त टोलीले ठूलो परिमाणको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरी टोलीले भोरर आलो थाना क्षेत्रको मोटागाछमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पुलिसका अनुसार पक्राउ पर्नेहरूमा जलपाइगुडीको राजगञ्ज निवासी ४७ वर्षीय लियाकत अली र मालदाको कालियाचक निवासी ४६ वर्षीय हशमत शेख रहेका छन्। शङ्कास्पद अवस्थामा फेला परेका उनीहरूको खानतलासी गर्दा टोलीले ३२६ ग्राम ब्राउन सुगर (खैरो हिरोइन) बरामद गरेको हो। लागुऔषधका साथै उनीहरूको साथबाट दुईवटा मोबाइल फोन र एउटा मोटरसाइकल समेत जफत गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जना विरुद्ध भोरर आलो थानामा लागुऔषध तथा मनोद्विपक पदार्थ (एनडीपीएस) ऐन अन्तर्गत मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पुलिसले उल्लेख गरेको छ।










