सोरेङ: सिक्किमको सोरेङस्थित अभियान्त्रिकी परिसर (डाक बङ्गला) मा आयोजना भइरहेको २१२औँ राष्ट्रस्तरीय भानु जयन्ती समारोह २०२६ को चौथो दिन शनिबार एक विशेष कार्यक्रम सम्पन्न भएको छ। ‘भाषा, साहित्य विकास एवम् जातीय सद्भावना’ विषयमा आयोजित उक्त कार्यक्रममा सिक्किम विधानसभाकी उपाध्यक्ष राज कुमारी थापा मुख्य अतिथिका रूपमा सहभागी हुनुभएको थियो। गरिमामय समारोहमा विशिष्ट अतिथिका रूपमा विधायक कला राई र विधायक पामिन लेप्चाको पनि उपस्थिति रहेको थियो।
आफ्नो सम्बोधनका क्रममा उपाध्यक्ष थापाले २१२औँ राष्ट्रस्तरीय भानु जयन्ती समारोह सफलतापूर्वक आयोजना भइरहेकोमा आयोजक समितिलाई हार्दिक बधाई ज्ञापन गर्नुभयो। उहाँले यस समारोहलाई राज्यस्तरबाट राष्ट्रस्तरीय कार्यक्रमको रूपमा उचाइमा पुर्याउन मुख्यमन्त्री प्रेमसिंह तामाङले राख्नुभएको दूरदृष्टि र प्रतिबद्धताको उच्च प्रशंसा गर्नुभयो। कार्यक्रममा आयोजित तर्क वितर्क प्रतियोगिताको महत्त्वबारे चर्चा गर्दै उहाँले यस्ता रचनात्मक प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास बढाउने, समय व्यवस्थापनको क्षमता विकास गर्ने तथा आफ्ना विचार प्रभावकारी रूपमा अभिव्यक्त गर्न सिकाउने धारणा राख्नुभयो।
उपाध्यक्ष थापाले विद्यार्थीहरूलाई जीवनमा सफल व्यक्तित्व बन्नुका साथै एक जिम्मेवार र सभ्य नागरिकका रूपमा अघि बढ्न प्रेरित गर्नुभयो।
भारतको संविधानद्वारा नेपाली भाषाले प्राप्त गरेको मान्यतालाई गौरवका साथ स्मरण गराउँदै उहाँले आफ्नै भाषा, साहित्य र सांस्कृतिक सम्पदाप्रति गर्व गर्न र यसको संरक्षणमा लाग्न सबैलाई हार्दिक आग्रह गर्नुभयो।










