तीनदिने आजादीको अमृत महोत्सव कार्यक्रम शुरु भयो गेजिङमा

00-Ajadi-kaa-Amrit-Mahotsav-1

गान्तोक: केन्द्रीय सञ्चार कार्यालय तथा पत्र सूचना कार्यालय, पूर्वोत्तर क्षेत्रका महानिर्देशक बी नारायणनले विद्यार्थी समुदायलाई एकता अनि स्वच्छताको पाठ आफ्नो जीवनमा आत्मसात गर्न अपील गरेका छन्। पश्चिम सिक्किमअन्तर्गत गेजिङको क्योङसा खेल मैदानमा तीनदिने आजादीको अमृत महोत्सव कार्यक्रम उद्घाटन गर्दै महानिर्देशक नारायणनले भारतको स्वतन्त्रता सङ्ग्राममा विशेष गरी पूर्वोत्तर क्षेत्रका स्वतन्त्रता सेनानीहरूको उल्लेख पनि गरे। गान्धीजीको स्वच्छता पहलमाथि प्रकाश पार्दै उनले सर्वसाधारणलाई स्वच्छता अभियानमा खुलेर भाग लिन पनि आह्वान जनाए।

देशको स्वतन्त्रता आन्दोलनका साथमा विभिन्न क्षेत्रका स्वतन्त्रता सेनानीहरूको बलिदानको सम्बन्धमा जागरूकता फैलाउन देशको विभिन्न भागमा प्रदर्शनी आयोजन गरिरहेको जानकारी गराउँदै भविष्यमा यस अभियानलाई अरू बढी आकर्षक बनाउन प्रविधिको प्रयोग गरिने पनि उनले अवगत गराए। यसका साथै पर्यावरणको सुरक्षाका लागि सिङ्गल युज प्लास्टिक अर्थात् एकपटक मात्र प्रयोग गर्नसकिने प्लास्टिकको उपयोग नगर्न पनि उनली अपील गरे।

यसै क्रममा सशस्त्र सीमा बल (एसएसबी), गान्तोकका उपमहानिरीक्षक बलवान सिंहले एसएसबीको गतिविधिबारे प्रकाश पार्दै सरकारको विभिन्न कल्याण योजनाबारे जनमानसमा जागरूकता फैलाउने केन्द्रीय सञ्चार कार्यालयको (सीबीसी) पहलको सराहना गरे। एसएसबीद्वारा नागरिक सुविधा कम रहेका सुदूर इलाकाहरूमा परिचालन गरिने विभिन्न गतिविधिबारे पनि उनले अवगत गराए। गेजिङका पुलिस अधीक्षक हरि छेत्री तथा खेलकूद एवं युवा मामिला विभागकी संयुक्त निर्देशक श्रीमती भोटियाले पनि कार्यक्रमलाई सम्बोधन गरे।

सबै आगन्तुक अनि अतिथिहरूलाई स्वागत जनाउँदै सीबीसीका उपनिर्देशक अरिजीत चक्रवर्तीले आजादीको अमृत महोत्सव सम्बन्धी प्रदर्शनीको उद्देश्यबारे अवगत गराउँदै विभिन्न गतिविधिबारे पनि जानकारी दिए। तीनदिने प्रदर्शनी केन्द्रीय सञ्चार कार्यालय, गुवाहाटी र सशस्त्र सीमा बल, गेजिङले संयुक्त रूपमा आयोजन गरिरहेको छ। कार्यक्रमको मुख्य आकर्षण एसएसबीको आयुध प्रदर्शनी रहेको छ भने बलले चिकित्सा शिविर, पशुचिकित्सा शिविर, तस्वीर प्रदर्शनी, खाद्य विपणी पनि सजाइएका छन्। उद्घाटन कार्यक्रममा धेरै सङ्ख्यामा स्कूले विद्यार्थीहरू उपस्थित थिए भने सीबीसीका साथमा निजी पञ्जिकृत टोलीद्वारा रङ्गारङ्ग सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरियो। यसै गरी यङ बोयज एफसी र गेजिङ भेटरेन्स एफसीबीच मैत्री फूटबल म्याच पनि राखिएको थियो। कार्यक्रम शुक्रबारसम्म जारी रहनेछ। पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *