गान्तोक: सिक्किमको तीनदिने अध्ययन भ्रमणमा रहेको भारत सरकारको गृह मामिला सम्बन्धी विभागीय संसदीय स्थायी समितिले आज लोकभवनमा राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरेका छन्।
राज्यसभाका सांसद तथा समितिका अध्यक्ष डा. राधा मोहन दास अग्रवालको नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डललाई राज्यपालले लोकभवनमा स्वागत गरे।

लोक भवनले दिएकाे जानकारी अनुसार, भेटका क्रममा सिक्किमको सीमावर्ती सुरक्षा व्यवस्थापन, आपदा व्यवस्थापन, पूर्वाधार विकास तथा राज्यमा सञ्चालन भइरहेका विभिन्न केन्द्र प्रायोजित कल्याणकारी योजनाहरूको प्रभावकारी कार्यान्वयनबारे विस्तृत छलफल भयो।
अन्तरराष्ट्रिय सीमासँग जोडिएको राज्य भएकाले सिक्किम सामरिक दृष्टिले अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै यहाँ सुरक्षा र विकास दुवै समान रूपमा महत्त्वपूर्ण रहेको राज्यपालले उक्त समितिलाई बताए।
शिष्टाचार भेटमा प्रतिनिधिमण्डलका सदस्यहरू सांसद बीवाई राघवेन्द्र, मोहम्मद हम्दुल्लाह सईद तथा डेलकर कालाबेन मोहनभाईका साथै राज्यसभा सचिवालयका संयुक्त सचिव एके मल्लिक तथा निर्देशक हर प्रतीक आर्य पनि उपस्थित थिए।
समितिका अध्यक्ष डा. राधा मोहन दास अग्रवालले राज्यपाललाई अध्ययन भ्रमणको मुख्य उद्देश्य सीमावर्ती क्षेत्रहरूको स्थलगत निरीक्षण गर्नु, उदीयमान सुरक्षा चुनौतीहरूको मूल्याङ्कन गर्नु, भारतीय सेनाका जवानहरूसँग अन्तरक्रिया गर्दै उनीहरूले सामना गरिरहेका कठिनाइबारे जानकारी लिनु तथा केन्द्र प्रायोजित योजनाहरूको कार्यान्वयनको समीक्षा गर्नु रहेको जानकारी गराए।
राज्यपालले संसदीय समितिको यस पहलको प्रशंसा गर्दै यस भ्रमणले राज्यको समग्र विकासलाई थप गति प्रदान गर्ने विश्वास व्यक्त गरे।









