​ग्याल्सिङमा ‘उन्नति २०२४’ योजनासम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

de8a2f65-bb00-4cd5-bc4d-107bade4355c

पेलिङ: सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभाग अन्तर्गतको जिल्ला उद्योग केन्द्र (डीआईसी) ग्याल्सिङले भारत सरकारको उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभाग (डीपीआईआईटी) सँगको सहकार्यमा बिहीबार एकदिने क्षमता अभिवृद्धि कार्यशाला आयोजना गरेको छ। ग्याल्सिङ जिल्लाको पेलिङस्थित याङ्थाङ फार्म्समा ‘उन्नति २०२४’ योजनामा केन्द्रित रही सो कार्यशाला सम्पन्न भएको हो।
​भारत सरकारको डीपीआईआईटीका सेक्सन अफिसर राहुल सैनीको अध्यक्षतामा भएको सो कार्यक्रममा उद्यमी, औद्योगिक एकाइ, सम्भावित लगानीकर्ता र सरोकारवालाहरूलाई ‘उन्नति’ योजना अन्तर्गत उपलब्ध हुने प्रोत्साहन भत्ता (इन्सेन्टिभ) र अनलाइन पोर्टल मार्फत दाबी पेस गर्ने प्रक्रियाबारे विस्तृत जानकारी दिइएको थियो।
​कार्यक्रममा स्वागत मन्तव्य राख्दै जिल्ला उद्योग केन्द्र ग्याल्सिङका संयुक्त निर्देशक एवं महाप्रबन्धक एडी राईले उन्नति २०२४ योजना उत्तर-पूर्वी क्षेत्रमा औद्योगिक विकास प्रवर्द्धन गर्न, लगानी आकर्षित गर्न र दिगो रोजगारीका अवसरहरू सिर्जना गर्न भारत सरकारको एउटा प्रमुख पहल भएको बताए। उनले योग्य उद्यमीहरूलाई यस योजनाको लाभ उठाएर राज्यको आर्थिक वृद्धिमा योगदान पुर्‍याउन र अनलाइन आवेदनहरू समयमै पेस गर्न आग्रह गरे।
​कार्यशालामा उन्नति योजनाका परियोजना व्यवस्थापन एकाइ (पीएमयू) का सुभम शर्माले स्रोत व्यक्तिका रूपमा योजनाका उद्देश्य, योग्यताको मापदण्ड, अनलाइन पोर्टलका विशेषता र दाबी पेस गर्दा आवश्यक पर्ने कागजातबारे प्राविधिक प्रस्तुति दिएका थिए। खुल्ला सत्रमा सहभागीहरूले राखेका जिज्ञासा र समस्याहरूलाई डीपीआईआईटी तथा परियोजना कार्यान्वयन एकाइ (पीआईयू) का अधिकारीहरूले स्पष्ट पारेका थिए।
​सोही अवसरमा मन्त्रालयबाट यस योजना अन्तर्गत दर्ता प्रमाणपत्र प्राप्त गरिसकेका विभिन्न औद्योगिक एकाइका प्रवर्द्धकहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो। कार्यक्रममा नाम्ची जिल्ला उद्योग केन्द्रका संयुक्त निर्देशक दिनेश प्रधान लगायत विभिन्न अधिकारीहरूको उपस्थिति रहेको थियो भने अन्तमा उन्नति पीआईयूका सन्तोष शाँले धन्यवाद ज्ञापन गरेका थिए।

About Author

Advertisement