सिक्किम बास्केटबल लिग २०२६: आगामी जुलाई १२ देखि २३ टोलीबिच प्रतिस्पर्धा हुने

578f33a4-2e29-4d55-b938-852e10bc63ed

गान्तोक :बास्केटबल एसोसिएसन अफ सिक्किम (बीएएस) को आयोजनामा आगामी जुलाई १२ देखि ‘सिक्किम बास्केटबल लिग २०२६’ सुरु हुने भएको छ। एसोसिएसनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा लगातार तीन महिनासम्म चल्ने यस प्रतिष्ठित लिगको औपचारिक घोषणा गरेको हो।
​गान्तोकस्थित पाल्जोर स्टेडियम परिसरमा रहेको इन्डोर बास्केटबल कोर्टमा आयोजना हुने यस लिगमा जम्मा २३ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बास्केटबल एसोसिएसन अफ सिक्किमका महासचिव जिग्मे वाजिलीङ्पा र प्रमुख संरक्षक तेन्जिङ दोर्जेले प्रतियोगिताका प्राविधिक तथा व्यवस्थापकीय पक्षबारे विस्तृत जानकारी गराउनुभएको थियो।
​पुरुषतर्फ १९ र महिलातर्फ ४ टोली भिड्ने
​यस वर्ष लिगमा सहभागिता जनाउने २३ टोलीमध्ये १९ वटा पुरुष र ४ वटा महिला टोली रहेका छन्। आम नागरिक र खेलप्रेमीहरूको व्यस्ततालाई ध्यानमा राख्दै लिगका खेलहरू साप्ताहिक बिदा (शनिबार र आइतबार) तथा सरकारी बिदाका दिनहरूमा मात्र सञ्चालन गरिने आयोजकले जनाएको छ।
​राष्ट्रिय टोलीका लागि खेलाडी छनोट हुने:
यस लिगमा खेलाडीहरूले प्रदर्शन गरेको खेल र कौशलका आधारमा राष्ट्रिय बास्केटबल प्रतियोगितामा सिक्किमको प्रतिनिधित्व गर्ने राज्यको टोली (नेसनल्स) का लागि खेलाडीहरूको छनोट समेत गरिनेछ।
​प्रतियोगिताका विजेता तथा उपविजेता टोलीहरूलाई आकर्षक नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ। यसका साथै, बास्केटबल एसोसिएसन अफ सिक्किमले आगामी अक्टोबर १ देखि अक्टोबर ५ तारिखसम्म ‘सिक्किम स्टेट ओपन बास्केटबल टुर्नामेन्ट’ पनि आयोजना गर्ने घोषणा गरेको छ। उक्त खुल्ला प्रतियोगितामा सिक्किम राज्यका साथै राज्य बाहिरका नामुद टोलीहरूले समेत सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

About Author

Advertisement