गुवाहाटी: असमका मुख्यमन्त्री
हिमंत बिस्वा सरमाले सामाजिक सञ्जालमा तस्बिरसहित एक सन्देश साझा गर्दै लागुऔषध कारोबारीहरू विरुद्ध असम पुलिसले चलाएको कडा अभियानको विवरण सार्वजनिक गर्नुभएको छ।
“यो व्यापार हो” भन्दै लागुऔषध तस्करीमा लागेकाहरूलाई असम पुलिसले “असममा यस्तो धन्दा चल्दैन” भन्दै कडा जवाफ दिएको छ।
पुलिसको विशेष अप्रेशनका क्रममा श्रीभूमि र कछार जिल्ला प्रहरीको संयुक्त टोलीले करिब १३ करोड भारतीय रुपैयाँ मूल्य बराबरको लागुऔषध बरामद गर्न सफल भएको छ। बरामद गरिएको लागुऔषधमा ४९ हजार ८ सय पिस याबा ट्याब्लेट र ५३५ ग्राम हेरोइन रहेको छ। यस अवैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जना अभियुक्तहरूलाई नियन्त्रणमा लिएको छ।
मुख्यमन्त्री सरमाले अवैध लागुऔषध ओसारपसार नगर्न चेतावनी दिँदै व्यापार नै गर्न मन भए सरकारका वैधानिक योजनाहरू रोज्न आग्रह गर्नुभएको छ। असमलाई लागुऔषधमुक्त बनाउने संकल्पसहित पुलिसले आफ्नो अभियानलाई थप तीव्र पारेको छ।











