बिहारबाट गाडीमा ल्याइँदै थियो अवैध लागूऔषध
सिलगढी: सिलगढी पुलिस कमिस्नरेट अन्तर्गतको बागडोगरा थाना प्रहरीले बुधबार एउटा ठुलो सफलता हासिल गर्दै भारी परिमाणको अवैध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष सुराकीका आधारमा खटिएको बागडोगरा थानाको सादा पोसाकको प्रहरी टोलीले आफ्नो कार्यक्षेत्र भित्र पर्ने केष्टपुर मोडमा एउटा संकास्पद सवारी साधनलाई रोकेर खानतलास गर्दा उक्त प्रतिबन्धित लागूऔषध बरामद भएको हो। पुलिसले गाडीमा सवार दुई जनालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ।
पुलिसका अनुसार पक्राउ पर्नेहरूमा बिहारको वैशाली निवासी २३ वर्षीय विकी कुमार र २६ वर्षीय प्रवीण कुमार रहेका छन्। उनीहरूको साथबाट प्रहरीले ४१.१८३ किलोग्राम गाँजा, विभिन्न गाडीका तीन थान नम्बर प्लेट र ७ हजार ९०० रुपैयाँ नगद बरामद गरी जफत गरेको छ। साथै गाँजा ओसारपसारमा प्रयोग गरिएको सवारी साधनलाई पनि पुलिसले नियन्त्रणमा लिएको छ। पक्राउ परेका अभियुक्तहरूविरुद्ध बागडोगरा थानामा लागूऔषध ओसारपसार नियन्त्रण सम्बन्धी कडा (एनडीपीएस) ऐन अन्तर्गत मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान अघि बढाइएको पुलिसले जनाएको छ।










