‘भावी पुस्ताका लागि हरियो विरासत छोडौँ’ भन्ने नाराका साथ वृक्षारोपण अभियान
नाम्ची: राज्यको नाम्चीस्थित सेन्ट्रल पार्कमा वन तथा पर्यावरण विभाग (नाम्ची डिभिजन) को तत्परतामा १४ दिने लामो ‘सिक्किम पर्यावरण पर्व’ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। यस वर्ष ‘भावी पुस्ताका लागि हरियो विरासत छोडौँ’ (Leave a Green Legacy) भन्ने मुख्य नाराका साथ आयोजित यो वार्षिक उत्सव आगामी जुलाई १४ तारिखसम्म जारी रहनेछ। यस पन्ध्र दिने अभियान अन्तर्गत व्यापक रूपमा वृक्षारोपण, वातावरणीय सचेतना कार्यक्रम, सरसफाइ अभियान र पर्यावरण संरक्षणका विभिन्न गतिविधिहरू सञ्चालन गरिनेछन्।यस उद्घाटन समारोहमा नाम्ची-सिङ्गीथाङ क्षेत्रका माननीय विधायक श्री सतीशचन्द्र राई मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने नाम्ची वन विभागका वरिष्ठ अधिकारीहरू, वन संरक्षकहरू र स्थानीय लाभार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विधायक राईले पर्यावरण संरक्षणका लागि यो एउटा उदाहरणीय र महान कार्य भएको बताउनुभयो। उहाँले सिक्किमका माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ (गोले) प्रति हार्दिक आभार प्रकट गर्दै मुख्यमन्त्रीको दूरदर्शी सोचकै कारण राज्यमा वृक्षारोपण र पर्यावरण संरक्षणले नयाँ उचाइ लिएको उल्लेख गर्नुभयो। यो अभियानले बालबालिकाहरूको उज्ज्वल भविष्य सुरक्षित गर्नुका साथै प्रकृतिप्रतिको जिम्मेवारी बोध गराउने भएकाले सबै नागरिक मिलेर पर्यावरण जोगाउन अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।समारोहमा नाम्चीका क्षेत्रीय वन अधिकारी (डीएफओ टेरिटोरियलl)ले यस १४ दिने उत्सवको मुख्य उद्देश्य पर्यावरण संरक्षणमा जनसहभागितालाई अझ मजबुत बनाउनु रहेको जानकारी दिनुभयो। यस अभियान अन्तर्गत मुख्यमन्त्रीद्वारा परिकल्पना गरिएका प्रसिद्ध योजनाहरू ‘मेरो रुख मेरो सन्तति’ र ‘मेरो बाटो मेरो बोट’ अन्तर्गत जिल्लाभरि विभिन्न कार्यक्रमहरू गरिनेछन्।यस पटक नाम्ची जिल्लाका करिब ७०० जना दर्ता भएका लाभार्थीहरूले ‘मेरो रुख मेरो सन्तति’ वृक्षारोपण अभियानमा सहभागिता जनाउने अपेक्षा गरिएको छ।उत्सवको पहिलो दिन मुख्य अतिथिद्वारा लाभार्थीहरूलाई वृक्षारोपण प्रमाणपत्र र ‘सिक्किम शिशु समृद्धि योजना’ को पासबुक हस्तान्तरण गरिएको थियो। त्यसपछि सर्वसाधारणका लागि बिरुवा वितरण गर्ने गाडीलाई हरियो झण्डा देखाएर प्रस्थान गराइएको थियो।

कार्यक्रमको अन्त्यमा उपस्थित लाभार्थीहरूले तोकिएको स्थलमा पुगेर मालागिरी, ओखर र जय सूर्य जस्ता विभिन्न प्रजातिका करिब ३०० वटा बिरुवा रोपेर हरित र सुन्दर भविष्य निर्माण गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्याएका छन्।










