गाडीधुरा नवदीप परिवारको तत्वधानमा गोर्खा शहिद मेजर दूर्गा मल्लको ११३औँ जन्मजयन्ती पालन

IMG-20260701-WA0061

खरसाङ: खरसाङको गाडीधुरा नवदीप परिवारको तत्वधानमा आज गोर्खा शहिद मेजर दूर्गा मल्लको ११३औँ जन्मजयन्ती पालन गरियो। गाडीधुरा बजारस्थित शहिद मेजर दुर्गा मल्लको सालिग अघि आयोजित यस जन्मजयन्ती समारोहको अध्यक्षता नवदीप परिवारको सचिव रोशन विश्वकर्माले गरेका थिए‌ भने अतिथिहरूमा समाजसेवी अनुप गदाल, सन्त मेरीज तीन ग्राम पञ्चायतका प्रधान दिनेश थापा, खरसाङ खण्ड पञ्चायत समिति सदस्य रमा ठटाल, सन्त मेरी तीन ग्राम पञ्चायत सदस्यगण मनोज तामाङ, जमुना छेत्री,सदिप सार्की, गाडीधुराका युवा समाजसेवी सुमेर धमाला, गाडीधुराका भूतपूर्व सैनिक लगायत गाडीधुरा नवदीप परिवारको सदस्यगणको उपस्थिति रहेको थियो। गाडीधुरा नवदीप परिवारका सदस्य अनुप रामुदामुद्वारा सञ्चालित कार्यक्रमको‌ प्रथममा शहीद मेजर दुर्गा मल्लको सालिगमा धूप- दिप प्रज्वलन गरेर माल्यार्पण गरिएको थियो। उपस्थित सबैले माल्यार्पण गरेपछि केक काट्ने कार्य गरिएको थियो। यस समारोहबारे बोल्दै अतिथि अनुप गदालले हामी गोर्खा जातिको शिर खडा गराउन अमर शहीद मेजर दूर्गा मल्लले जुन कार्य जातिको लागि गरेका थिए, अब हामीले पनि जातिको लागि केही गर्न पर्ने दिन आएको बताए‌। उनले गाडीधुरा नवदीप परिवारले आयोजन गरेको यस कार्यक्रमको पनि प्रशंसा गर्दै उपस्थित सम्पूर्णलाई शुभकामना व्यक्त गरे। क्लबको पक्षबाट आफ्नो वक्तव्य राख्ने क्रममा रोशन विश्वकर्माले क्लबद्वारा हरेक साल दुर्गा मल्लको जन्मदिन साधारण तरिकाले मनाउँदै आईरहेको तर बलिदान दिवस भने भव्यताको साथ पालन गरिने बताए। विगत सालहरूमा झैं यस साल पनि जन्मदिवस भव्य नगरेको तर बलिदान दिवस भने भव्यताको साथ पालन गरिने र यसको निम्ति सबैको साथ र सहयोगको खाँचो पर्ने बताए।

उनले यस कार्यक्रममा उपस्थित सम्पूर्णलाई क्लबको पक्षबाट धन्यवाद ज्ञापन गर्दै यस क्लबलाई अझ फलाउन र फूलाउन सबैको साथ र सहयोगको अपेक्षा गरेका छन्। स्मरण रहोस् धेरै कठिनाइहरू बीच गाडीधुरा नवदीप परिवारले नै २०२१ मा गाडीधुरा चोकमा यस भव्य पूर्णाङ्क शालिकको अनावरण गरेका हुन् र मेजर दूर्गा मल्ललाई फासी लगाइएको दिनलाई बलिदान दिवसको रूपमा क्लबद्वारा भव्य कार्यक्रमको आयोजना गर्दै आई रहेका छन्।

About Author

Advertisement