सिमफेडद्वारा सचेतना कार्यक्रम आयोजना
पाक्योङ: सहकारी सप्ताह उत्सव २०२६ को एक हिस्सा अन्तर्गत सिक्किम राज्य सहकारी आपूर्ति तथा बजारीकरण महासंघ लिमिटेड (सिमफेड) को पहलमा आज पाक्योङस्थित एडीसी हलमा एक दिवसीय सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सहकारी सदस्यहरू, कृषकहरू र सर्वसाधारणमाझ सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा बीउ व्यवस्थापन, बैंकिङ प्रक्रिया, सरकारी योजनाहरू र वन्यजन्तुको अतिक्रमण जस्ता महत्त्वपूर्ण विषयहरूमाथि केन्द्रित रहेर छलफल गरिएको थियो। कार्यक्रममा सिमफेडका आदरणीय अध्यक्ष तेन्जिङ दोर्जी भोटिया मुख्य अतिथिका रूपमा उपस्थित थिए भने पाक्योङ जिल्लाका अतिरिक्त जिल्ला अधिकारी (एडीसी) साङ्गे ग्यात्सो भोटिया विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। यसका साथै सिमफेड सञ्चालक समिति सदस्य एवं सेन्ट्रल पाण्डम एमपीसीएसका अध्यक्ष सुदीप प्रधान र सिमफेड सञ्चालक समिति सदस्य एवं नोझलिक रेगु एमपीसीएसका अध्यक्ष साज्भदान राई लगायत अन्य अधिकारीहरूको पनि गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमको प्राविधिक सत्रमा पाक्योङ जिल्ला सहकारी विभागका अतिरिक्त रजिस्ट्रार सन्त केसाङ याङ्कीले मुख्य स्रोत व्यक्तिका रूपमा सहकारी विकास र सरकारका विभिन्न कल्याणकारी योजनाहरूबारे विस्तृत जानकारी दिएका थिए। सोही क्रममा पाङ्गोलाखा वन्यजन्तु आरक्षका एसीएफ मावी राज राई र रेन्ज अधिकारी हेमन्त शर्माले वन्यजन्तु संरक्षण र मानव-वन्यजन्तु बीचको द्वन्द्वका विषयमा जानकारीमूलक प्रस्तुति दिएका थिए। उनीहरूले गाउँघर र कृषियोग्य जमिनमा वन्यजन्तुको अतिक्रमणलाई कसरी कम गर्ने र जैविक विविधताको रक्षा कसरी गर्ने भन्ने उपायहरूमाथि प्रकाश पारे। कार्यक्रममा उपस्थित सहकारी सदस्यहरू, कृषकहरू र स्थानीय सरोकारवालाहरूले स्रोत व्यक्तिहरूसँग विभिन्न विषयमा जिज्ञासा राख्दै सक्रिय रूपमा अन्तरक्रिया गरेका थिए। सिक्किमभरि सहकारी आन्दोलनलाई सुदृढ बनाउन र दिगो ग्रामीण विकासलाई प्रवर्द्धन गर्न सिमफेड निरन्तर प्रतिबद्ध रहेको कुरा दोहोर्याउँदै कार्यक्रम धन्यवाद ज्ञापनका साथ समापन भएको थियो।










