तिनसुकिया: असम पुलिसले एक विशेष सूचनाका आधारमा चलाएको संयुक्त अपरेसनमा प्रतिबन्धित उग्रवादी संगठन ‘युनाइटेड लिबरेशन फ्रन्ट अफ असम-इन्डिपेन्डेन्ट’ (उल्फा-आई) को एउटा ठूलो आतंककारी षड्यन्त्रलाई विफल पारेको छ। तिनसुकिया जिल्ला पुलिसका अनुसार यस घटनामा संलग्न रहेको आरोपमा अहिलेसम्म चार जनालाई पक्राउ गरिएको छ।
तिनसुकियाका पुलिस अधीक्षक (एसपी) मयंक कुमारले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार, केन्द्रीय गुप्तचर एजेन्सीहरू र सुरक्षा बलको सहकार्यमा गत २६ जुनमा लेखापानी थाना अन्तर्गत जागुन क्षेत्रमा एउटा अप्रेशन चलाइएको थियो। उक्त कारबाहीका क्रममा उल्फा (आई) का दुई सक्रिय उच्च कमाण्डरहरू पक्राउ परेका थिए। पक्राउ पर्नेहरूमा संगठनका स्वघोषित सेकेन्ड लेफ्टिनेन्ट ‘सियोर आसोम’ भनिने ह्युमनज्योति बरुवा (२७ वर्ष) र स्वघोषित सेकेन्ड लेफ्टिनेन्ट ‘मनोज आसोम’ भनिने पापु मोरन (३० वर्ष) रहेका छन्। यी दुवै सन् २०१८ मा संगठनमा सामेल भई विभिन्न हिंसात्मक गतिविधिमा संलग्न रहँदै आएका थिए।

सहरमा अन्धाधुन्ध गोलीबारी र ग्रेनेड आक्रमण गर्ने योजना
पुलिस अधीक्षक कुमारका अनुसार पक्राउ परेका उग्रवादीहरूले सोधपुछका क्रममा तिनसुकिया सहरमा सर्वसाधारणलाई लक्षित गरी अन्धाधुन्ध गोलीबारी र ग्रेनेड आक्रमण गर्ने आत्मघाती योजना बनाएको स्वीकार गरेका छन्। पुलिसको समयमै भएको सक्रियताका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको छ। सुरक्षा बलले उनीहरूको साथबाट दुई थान ए-के सिरिजका राइफल, १७२ राउन्ड गोली, दुई वटा ग्रेनेड, जंगलमा बस्न प्रयोग गरिने बन्दोबस्तीका सामान, औषधि र नगद बरामद गरेको छ।
सहयोगी पनि समातिए
उक्त पक्राउपछि पुलिसले चलाएको अर्को अपरेसनमा उग्रवादीहरूलाई बन्दोबस्ती र गाडीको सहयोग उपलब्ध गराएको आरोपमा पानीटोलाका बिटु बोरा र कल्प बोरालाई पक्राउ गरेको छ। ‘अखिल असम मटक युवा छात्र परिषद्’ का सह-महासचिव कल्प बोरामाथि उग्रवादीलाई सहयोग गरेको आरोप छ भने बिटु बोराको स्विफ्ट कार (एआर-२०ए-५८९२) उनीहरूले प्रयोग गर्ने गरेको खुलेको छ। उनीहरूले उल्फा (आई) का वरिष्ठ कमाण्डर ‘आइसेङ असम’ को निर्देशनमा उक्त गाडी खरिद गरिएको बयान दिएका छन्। यस घटनापछि तिनसुकिया जिल्लाभरिको सुरक्षा व्यवस्था कडा पारिएको छ।










