१५ दिनभित्र दाेकानहरु खाली गर्ने नोटिसपछि दाेकान मालिकहरुद्वारा विरोधमा दाेकान बन्द

IMG-20260628-WA0108

सभा गरेर नगरपालिकामा ज्ञापन बुझाउने निर्णय

खरसाङ: खरसाङ नगरपालिकाद्वारा खरसाङ बजारको हाट बजार क्षेत्रका १२३ वटा दाेकानदारहरूलाई १५ दिनभित्र आफ्नो दाेकान खाली गर्न सूचना जारी गरेपछि यसको विरोधमा आईतवार दाेकाना मालिकहरुले दोकानहरु बन्द गरेर सभा गरेको जानकारी प्राप्त भएको छ।
हाट बजारमा १२३ वटा दोकान मालिकहरुलाई १५ दिनभित्रमा दोकानहरु खाली गर्ने भनिएपछि खरसाङ बजारको दोकानेहरुको संगठन खरसाङ हाट बजार व्यवसायी संगठनले सभा गरेर यस नोटिस विषयमा सोमवार खरसाङ नगरपालिका पुगेर नगर प्रशासकलाई भेटेर यस विषयमा बुझ्ने र दोकानेहरुको पक्षमा निवेदन गर्ने साथै लिखित ज्ञापन पत्र पनि बुझाउने भएको छ। यस संगठनमा सभापति राजु सेवा र सचिवमा धिरज खाईबा रहेका छन्। यस खरसाङ हाट बजार व्यवसायी संगठनको सभा र सोमवार ज्ञापन पत्र बुझाउने भएकोले आईतवार दोकानहरु बन्द गरिएको थियो भने सोमवार पनि दोकानहरु बन्द रहने भएको छ। नगरपालिकाबाट हाट बजार क्षेत्रका १२३ वटा दोकानहरुलाई नोटिस आएपछि आईतवार दिनभरि दोकानेहरुमा एक प्रकारको अर्कै माहोल बनेको थियो। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ हाट बजार व्यवसायी संगठनका सभापति राजु सेवाले अचानक नोटिस आएपछि दोकानेहरु अलमल्ल परेको र आज सभा बसेर सभाको निर्णय अनुसार भोलि खरसाङ नगरपालिका पुगेर नगर प्रशासकलाई भेटेर यस विषयमा कुरा बुझ्ने र दोकानेहरुको पक्षमा निवेदन गरिने अनि लिखित रुपमा ज्ञापन पत्र पनि बुझाउने भएको बताएका छन्। उनले यहाँ कतिवटा दोकानहरु स्वतन्त्रता अघिदेखि नै दोकान सञ्चालन गर्दै आएको बताएका छन्‌।

उनले भने, ‘नगरपालिकाबाट अचानक १५ दिनभित्र दोकानहरु खाली गर्नु भनेकोले धेरै समस्या सिर्जना हुन्छ किनभने अचानक सबै दोकानहरु खाली गराउनु हो भने हामी ले गरिखाने र हाम्रो नानीहरुलाई कसरी पढाउनु? हाम्रो जीविकोपार्जनको मुख्य स्रोत नै यो दोकान हो र यसमाथि नै हामी आश्रित छौं। त्यसर्थ हामीले सभा गरेर सभाको निर्णय अनुसार सोमवार नगरपालिकामा गएर हामी हाम्रो विभिन्न समस्याहरु लिएर ज्ञापन पत्र बुझाउनेछौं।’

About Author

Advertisement