
भारतीय संस्कृतिमा स्वास्थ्यको स्थान धनदेखि माथि मानिन्छ। कार्तिक महीनाको कृष्ण त्रयोदशीलाई धनतेरस भनिन्छ। दीपावलीको दुई दिन पूर्व यो त्योहार मनाइने प्रचलन छ। शास्त्रअनुसार भगवान धन्वन्तरी देवताहरूको वैद्य हुन्। धन्वन्तरीको पूजाले आरोग्य सुख यानि स्वास्थ्य लाभ भएको हामी पाउँछौं। भगवान धन्वन्तरी उत्पन्न भएको दुई दिनपछि देवी लक्ष्मी प्रकट भएको हुनाले धनतेरसको दुई दिनपछि दीपावलीको पर्व मनाइन्छ। दीपावलीमा सबैभन्दा पहिले धनतेरसलाई महत्व दिइन्छ।
शास्त्रमा वर्णित कथाअनुसार समुद्र मन्थनको अवधि कार्तिक कृष्ण त्रयोदशीको दिन भगवान धन्वन्तरी आफ्नो हातमा अमृत कलश लिएर प्रकट भएका थिए। यसबारे मान्यता छ कि भगवान धन्वन्तरी विष्णुको अंशावतार हो। संसारमा चिकित्सा विज्ञानको विस्तार अनि प्रसारको निम्तिनै भगवान विष्णुले धन्वन्तरीको अवतार लिएका थिए। धनतेरसको दिन भगवान धन्वन्तरीको जन्म भएको थियो। यसकारण यस दिनलाई धनतेरसको त्योहारको रूपमा मनाइन्छ। यस दिन धन्वन्तरी देवसहित माता-लक्ष्मी अनि कुबेर देवको पूजा अर्चना गरिन्छ। यस दिन कालो रंगको कुनै पनि चीज आफ्नो घरमा किनेर लानु हुँदैन्। यस दिन आफ्नो सामर्थ्यअनुसार कुनै पनि रूपमा धातु जस्तै सून र चाँदीद्वारा निर्मित आभूषणहरू, ताँबा, पीतल, काँस, स्टील आदिद्वारा निर्मित भाँडा-वर्तन आदि सामग्रीहरूसहित कुच्चो किन्ने प्रचलन छ। कुच्चो खरीद गर्नलाई शुभ मानिन्छ। यो खरीद गर्नाले घरसित संबंधित सम्पूर्ण आर्थिक चिंता दूर हुने गर्दछ।
जानकारीअनुसार आज भन्दा लगभग २०-२५ वर्ष अघिसम्म दार्जीलिङ पहाड़ी क्षेत्रमा धनतेरसको क्रेज मानिसहरू बीच त्यति देखिँदैनथ्यो। तर,विगत १०-१५ वर्षदेखि दार्जीलिङ पहाड़ी क्षेत्रका मानिसहरू बीच यसको क्रेजमा वर्षेनी वृद्धि भएको हामी पाउँछौं। अहिले दार्जीलिङ पहाड़ी क्षेत्रमा धनतेरसको दिन धातुद्वारा निर्मित आवश्यक सामग्रीहरू मानिसहरूले जमेर खरीददारी गर्ने प्रचलन आरम्भ भएको छ।
(लेखक दार्जीलिङ पहाडका सुपरिचित पत्रकार हुनुहुन्छ)