प्रशासनिक सिमाना फरक भए पनि सिक्किम र दार्जीलिङको मन एउटै छ: मुख्यमन्त्री तामाङ
दार्जीलिङ: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ दार्जीलिङमा आयोजित ‘किराती खम्बु राई सांस्कृतिक उत्सव २०२६’ तथा किराती समुदायको महान् चाड ‘साकेला उभाउली’ महोत्सवमा विशेष रूपमा सहभागी भएका छन्। सिक्किम र पश्चिम बङ्गालका विशिष्ट नेतृत्वको उपस्थितिमा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री तामाङले दुई क्षेत्रबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने सन्देश दिएका छन्।
उक्त भव्य सांस्कृतिक उत्सवमा सिक्किम सरकारका माननीय मन्त्री भोजराज राई, पश्चिम बङ्गाल सरकारका राज्यमन्त्री विशाल लामा, दार्जीलिङका माननीय सांसद राजु विष्ट, विभिन्न क्षेत्रका विधायकहरू तथा विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमपछि सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अनुभव र भावना साझा गर्दै मुख्यमन्त्री तामाङले किराती खम्बु राई सांस्कृतिक एवं अनुसन्धान समाज (केकेआरएसएस) लाई यस गरिमामय कार्यक्रम आयोजना गरेकोमा बधाई दिएका छन्। उनले यो उत्सवले किराती समुदायको समृद्ध भाषा, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्न ठूलो योगदान पुर्याएको उल्लेख गरेका छन्।
”साकेलाले हामीलाई प्रकृतिसँग सद्भावमा रहन, हाम्रा पुर्खाहरूको सम्मान गर्न र एकता, कृतज्ञता एवं आपसी सम्मानको मूल्य मान्यतालाई सुदृढ गर्न सिकाउँछ,” मुख्यमन्त्री तामाङले फेसबुकमा लेखेका छन्, “आफ्नो भाषा र सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हाम्रो साझा जिम्मेवारी र भावी पुस्ताका लागि सबैभन्दा ठूलो उपहार हो।”

सिक्किम र दार्जीलिङको भौगोलिक सम्बन्धलाई जोड्दै मुख्यमन्त्रीले थप लेखेका छन्, “सिक्किम र दार्जीलिङ प्रशासनिक सिमानाले छुट्टिएका भए तापनि हामी साझा भाषा, संस्कृति, परम्परा र इतिहासद्वारा सधैँ एक ठाउँमा बाँधिएका छौँ। यो अटुट बन्धनलाई हामीले निरन्तर बलियो बनाइराख्नुपर्छ।”
उनले युवा पुस्तालाई आफ्नो गौरवमय सम्पदाप्रति गर्व गर्दै भविष्यका अवसरहरूलाई अंगाल्न प्रोत्साहन समेत गरेका छन्। दार्जीलिङमा आयोजित यस उत्सवले समग्र पहाडी क्षेत्रमा सांस्कृतिक एकता र हर्षोल्लासको वातावरण सिर्जना गरेको छ।











