फुलबारी: स्थानीय बासिन्दाले वर्षौंदेखि भोग्दै आएको सास्तीलाई अन्त्य गर्दै फुलबारी-१ ग्राम पञ्चायत अन्तर्गत भोला मोडेदेखि राजवंशी मोडेसम्मको पक्की सडक निर्माण कार्यको शनिबार शिलान्यास गरिएको छ। विधायक (एमएलए) शिखा चटर्जीले एक विशेष कार्यक्रमका बीच उक्त सडकको शिलान्यास गरेकी हुन्।
उक्त सडक खण्ड निकै जीर्ण भएका कारण दैनिक आवतजावत गर्ने यात्रु र पैदलयात्रीले लामो समयदेखि सास्ती भोग्दै आएका थिए। स्थानीय बासिन्दाले सडक मर्मतका लागि पटक-पटक माग गरे पनि वर्षौंदेखि यो योजना अलपत्र परेको थियो। निर्माण कार्य औपचारिक रूपमा सुरु भएसँगै स्थानीयवासीले राहत महसुस गर्दै खुसी व्यक्त गरेका छन्।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै विधायक शिखा चटर्जीले यो सडक लामो समयदेखि अत्यधिक क्षतिग्रस्त अवस्थामा रहेको र ठूला-ठूला खाल्डाहरूका कारण सर्वसाधारणलाई हिँडडुल गर्न निकै कठिन भइरहेको बताइन्। जनताको तीव्र मागलाई ध्यानमा राख्दै निर्माण कार्य अघि बढाइएको जानकारी दिँदै उनले ९०० मिटर लामो यस सडक परियोजनाको कुल लागत करिब १७ लाख रुपैयाँ रहने बताइन्।
शिलान्यास समारोहमा डाबग्राम-फुलबारी १ मण्डलका अध्यक्ष राहुल बर्मन, पञ्चायत सदस्यहरू दयाल रोय, उत्तम सरकार, स्वप्ना सिंह, मामोनी दास लगायत अन्य स्थानीय नेता तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।










