बिर्तामोड(झापा): पर्यटन पत्रकार मञ्च झापाको प्रथम साधारणसभा तथा पहिलो अधिवेशनबाट कमलप्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।
शनिबार बिर्तामोडमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो। मञ्चको उपाध्यक्षमा पुष्प बराल, सचिवमा हिमाल खरेल, सहसचिवमा तिलक तामाङ र कोषाध्यक्षमा चन्द्रप्रसाद बानियाँ निर्वाचित भएका छन्। यस्तै, सदस्यहरूमा प्रेमकुमार आचार्य, विष्णु श्रेष्ठ, पारसमणि आचार्य र टिकाराम बास्तोला चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष पाण्डेले पर्यटन पत्रकारिताको माध्यमबाट झापा र कोशी प्रदेशकै पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गर्ने प्रतिबद्धता जनाए। “हामी पत्रकारहरूको क्षमता अभिवृद्धि र पर्यटन प्रवर्द्धनमा सक्रिय भएर लाग्नेछौँ,” उनले भने।
अधिवेशनको उद्घाटन सत्रमा पर्यटन कार्यालयका प्रमुख छविलाल खतिवडा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुब्रत न्यौपाने, नाट्टा कोशी प्रदेशका महासचिव नवीन खरेल लगायतले नवगठित समितिलाई शुभकामना दिँदै पर्यटन विकासमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे।
समितिको पहिलो बैठकले नयाँ सदस्यता अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ।










