बागडोगरा: सिलीगुडी पुलिस कमिस्नरेट अन्तर्गत बागडोगरा थानाको पहलमा आज रङ्गापानी बजार क्षेत्रमा लागुपदार्थ विरोधी एक विशेष सचेतना कार्यक्रम आयोजना गरियो। समाजमा बढ्दै गइरहेको लागुपदार्थ दुर्व्यसनलाई नियन्त्रण गर्न र जनस्वास्थ्यको रक्षा गर्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा लागुपदार्थको सेवनले समाज, मानव स्वास्थ्य र मानसिक अवस्थामा पार्ने गम्भीर दुष्परिणामहरूका बारेमा स्थानीय जनतालाई विस्तृत जानकारी गराइयो। यसका साथै आफ्नो समुदायलाई लागुपदार्थको चंगुलबाट बचाउन नागरिकहरूले खेल्नुपर्ने सक्रिय भूमिकामाथि पनि जोड दिइयो।
प्रहरी अधिकारीहरूले लागुपदार्थको दलदलमा फसेकाहरूलाई समयमै सही परामर्श (अर्ली इन्टरभेन्सन) दिनु आवश्यक रहेको बताए। समाजलाई नशामुक्त बनाउनका लागि सामुदायिक सतर्कता र कानुन व्यवस्था कायम गर्ने निकायहरूसँगको आपसी सहयोग अनि समन्वय अपरिहार्य रहेको कुरामा सहभागीहरूलाई संवेदीकरण गरियो। पश्चिम बङ्गाल पुलिसको ‘लागुपदार्थ मुक्त सिलीगुडी’ अभियान अन्तर्गत यो कार्यक्रम सम्पन्न भएको हो।










